५ जेष्ठ २०८१, शनिबार

 

संक्रमण बढ्दै गए आउजाउमा कडाइदेखि काठमाडौं उपत्यकामा फेरि लकडाउनसम्म गर्ने सरकारको तयारी

कोभिड–१९ संक्रमण पुनः बढ्दै गएपछि सरकारले काठमाडौं उपत्यकामा आवतजावतमा कडाइसँगै आवश्यक परे लकडाउनसम्मको तयारी गरेको छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिले काठमाडौं आउने सवारी साधनहरूलाई कडाइ गर्न निर्देशन दिइसकेको छ।

पछिल्लो समय कोभिड–१९ का बिरामी बढ्दै गएको र परिस्थिति काबुबाहिर गए लकडाउन गर्न सकिने स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताए। ‘हालसम्म लकडाउनको तयारी छैन तर परिस्थिति भड्कियो भने जुनसुकै बेला हुन सक्छ,’ उनले भने, ‘पहिला हामीले खुकुलो गर्दा पनि पछि प्रतिकूल अवस्था भयो भने योभन्दा कडा लकडाउनको सामना गर्नुपर्ने परिस्थिति आउन सक्छ भनेकै छौं ।’ वीरगन्जलगायत ठाउँमा बढ्दै गएको संक्रमणले संवेदनशील बनाइरहेको उनले बताए ।

‘आवतजावत र क्वारेन्टिनको मामिलामा एउटा अनुशासन नअपनाउने हो भने अलि गाह्रो होला कि जस्तो भइरहेको छ,’ उनले भने, ‘परिस्थिति यसरी नै बढ्दै गयो भने नियन्त्रणका लागि लकडाउन पनि एउटा उपाय हो तर त्यो मात्रै त भएन।

अरू उपाय पनि अवलम्बन गर्छौं। सँगै यसलाई पनि अलि व्यवस्थित गर्नुपर्छ।’ ढकालले वीरगन्जमा अलि परिस्थिति भड्केला कि जस्तो भएको र संक्रमितहरूको संख्या पनि धेरै भएकाले अस्पतालको खोजी भइरहेको समेत बताए ।

उनले चिकित्सकहरूको एउटा टोली पठाइएको र त्यहाँको परिस्थितिबारे छलफल भइरहेको जनाए । शुक्रबार मात्रै १० हजार ७ सय ८६ को पीसीआर परीक्षण गरिएको भन्दै मन्त्री ढकालले सरकारले अन्य तयारी पनि गरिरहेको दाबी गरे ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले परिस्थितिअनुसार ठाउँ विशेषमा ‘सिल’ गर्न सकिने बताए। ‘उपत्यकामा विशेष गरी कोभिड–१९ का बिरामी बढ्नेजस्तो संकेत देखिएको छ।

त्यसलाई कसरी नियन्त्रण गर्ने, समुदायमा फैलिन नदिन के गर्ने भन्ने सीसीएमसीमा पनि छलफल भएको थियो। पर्सिको मन्त्रिपरिषद्मा पनि छलफल होला,’ उनले भने, ‘पीसीआरको मात्रा पनि बढाइएको छ।

संक्रमणका आधारमा कुनै एरिया सिलबन्दी गर्न सकिन्छ।’सीसीएमसीले अहिले नै लकडाउन गर्ने बेला नभएको भन्दै मानिसको आवतजावतमा भने कडाइ गर्ने निष्कर्ष निकालेको छ। ‘बाहिरबाट मान्छेहरू ल्याउन र आउन खोज्ने प्रवृत्ति बढी देखिएको छ,’ सीसीएमसीका सचिव महेन्द्र गुरागाईंले भने, ‘यातायातमा अलि कडाइ हुन्छ होला।

निजी गाडीमा मान्छे ओसार्ने काम भइरहेको छ। यसलाई समेत अब कडाइ गर्नुपर्छ।’ उनका अनुसार संक्रमणको जोखिम भएका ठाउँबाट अत्यावश्यक भए मात्रै काठमाडौं आउन दिइनेछ भने सामान्य ठाउँबाट आउनेहरूले पनि व्यक्तिगत पास लिएर आउनुपर्नेछ ।

‘अति जरुरी भएर नआई नहुनेलाई प्रशासनले हेरेर मात्रै गर्ने भन्ने भएको छ, स्यानिटाइजर, मास्क र सोसल डिस्टेन्स पालना गरे लकडाउन गर्न पर्दैन भन्ने छ,’ उनले भने, ‘अत्यावश्यक काम नपरी घरबाट ननिस्किने र भीडभाडमा नजान जनता आफैं सचेत बनुन् भन्ने सरकारको चाहना हो।’

बाहिरबाट आउन कडाइ गर्ने र काठमाडौंमा परीक्षण बढाए पूर्ण रूपमा बन्द गर्न जरुरी नरहेको समेत सीसीएमसीले ठह¥याएको छ । ‘७–८ दिन कडाइ गरेर हेर्ने हो भने पूरै बन्द गर्न पर्दैन भन्ने निष्कर्ष छ।

बाहिरबाट मान्छेहरू नआएपछि त यहाँभित्र आएर भएकाहरूलाई महानगरको सहयोगमा स्वाब संकलन गर्न सकिन्छ,’ सीसीएमसी स्रोतले भन्यो, ‘यहाँ भएकाहरू फिल्टर भएपछि धेरै समस्या हुँदैन।’

प्रतिक्रिया दिनुहोस्