५ जेष्ठ २०८१, शनिबार

 

बेलायतमा ९० मिनेटमै कोरोना पत्ता लगाउने विधि परीक्षण गरिँदै

नमुना सङ्कलन गरेको ९० मिनेटमै नतिजा आउने कोरोना भाइरसको नयाँ परीक्षण विधि यूकेमा आगामी साताबाट सुरु गरिने भएको छ। कोभिड–१९ र अन्य मौसमी बिरामी बीचको फरक छुट्याउन सकिने त्यस्तो स्वाब र डीएनए परीक्षण जाडो याममा निकै उपयोगी हुने ब्रिटेनका स्वास्थ्यमन्त्रीले बताएका छन् ।

हालको परीक्षण प्रक्रियाअन्तर्गत तीन चौथाइ नतिजा २४ घण्टाभित्रै आइसक्ने भएपनि एक चौथाइ नतिजाका लागि दुई दिनसम्म लाग्न सक्छ। सो परीक्षणको पाँच लाख किट यूकेका वृद्ध हेरचाह केन्द्र र परीक्षण केन्द्रमा आगामी साता उपलब्ध हुनेछ।

यो वर्ष थप लाखौँ त्यस्ता किट बनाइने बताइएको छ। स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले कोरोना भाइरस परीक्षणसम्बन्धी यो नयाँ विकसित प्रविधि जीवनरक्षक हुने पनि बताए। उनले भने, ‘नयाँ परीक्षणले ९० मिनेटभन्दा कम समयमा यथास्थानमै नतिजा दिएर हामीलाई कोरोना भाइरसको लहर रोक्न मद्दत गर्नेछ।’

यो परीक्षणका लागि मेसिन निर्माण गरेको कम्पनी डीएनए नजका सहसंस्थापक क्रिस टुमाजुले नयाँ परीक्षण छिटो र विश्वसनीय रहेको भन्दै यो जुनसुकै स्थानमा लगेर प्रयोग गर्न सकिने बताए।

परीक्षण किट बनाएको अक्सफोर्ड नानोपोरका प्रमुख कार्यकारी गोर्डन सांघेराले यो परीक्षण विश्वभरका लागि सस्तो र सहज हुने सम्भावना रहेको बताए ।

बीबीसीकी स्वास्थ्य संवाददाता लरेन मोसले अहिलेसम्म यो नयाँ परीक्षणका विषयमा तथ्यांक सार्वजनिक नगरिए पनि विश्वसनीय भएनभएको परीक्षण गर्ने विधि बनाइएको दाबी गरिएको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्