५ जेष्ठ २०८१, शनिबार

 

बागलुङमा एक स्वास्थ्यकर्मीमा कोरोना, १५ जना स्वास्थ्यकर्मी क्वारेन्टिनमा, ओपीडी सेवा बन्द

बागलुङमा एक जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।धौलागिरी बहुमुखी क्याम्पसमा निर्माण गरिएको प्रिआइसोलेसनमा कार्यरत एक जना महिला स्वास्थ्यकर्मीलाई संक्रमण पुष्टि भएको हो । २५ वर्षीया ती स्वास्थ्यकर्मी धौलागिरि बहुमुखी क्याम्पसमा स्थापना गरिएको प्री–आइसोलेसन कक्षमा खटिँदै आएकी थिइन् ।

स्वास्थ्यकर्मीमै कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले बुधबारदेखि बहिरंग (ओपीडी) सेवा अनिश्चित कालका लागि बन्द गरेको छ । थप स्वास्थ्यकर्मी र सर्वसाधारणमा कोरोना फैलिन नदिन र कन्ट्याक्ट ट्रेसिङमार्फत स्वाब संकलन गर्न अर्को सूचना जारी नभएसम्मका लागि ओपीडी सेवा बन्द गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बी पोखरेलले जानकारी दिए।

प्री–आइसोलेसनमा दुई स्वास्थ्यकर्मी खटाइएकोमा एक जनामा सामान्य ज्वरो र रुघा देखिएकाले स्वाब संकलन गर्दा उनमा कोरोना पुष्टि भएको उनले बताए ।

ती स्वास्थ्यकर्मीलाई अहिले अस्पतालको आइसोलेसनमा राखिएको छ । अस्पतालका मेसुसहित नियमित आइसोलेसनमा जाने चिकित्सकलगायत १५ जना स्वास्थ्यकर्मी र उनको सम्पर्कमा रहेका व्यक्तिलाई क्वारेन्टिनमा राखिएको छ । सबैको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाउने तयारी भइरहेको अस्पतालले जनाएको छ । 

तस्वीर सुवास आचार्य

प्रतिक्रिया दिनुहोस्