२३ बैशाख २०८१, आईतवार

 

ऐनको मर्म मिचेर चिकित्सा शिक्षा नियमावली सुटुक्क पारित

अर्धदक्ष जनशक्ति उत्पादन गरिरहेको सीएमए र एएनएमलगायत कार्यक्रम खारेज वा स्तरवृद्धि गर्ने चिकित्सा शिक्षा ऐनको मर्म मिचेर सरकारले हालै चिकित्सा शिक्षा नियमावली पारित गरेको छ। गत असार २९ गते मन्त्रिपरिषद्बाट पारित नियमावलीमा ऐनको उक्त व्यवस्थाबारे कहीँकतै केही उल्लेख गरिएको छैन ।

‘परिषद्ले सञ्चालन गरेको प्रमाणपत्र तहभन्दा मुनिका स्वास्थ्य शिक्षासम्बन्धी कुनै पनि प्राविधिक कार्यक्रम तोकिएबमोजिम हटाउने र तोकेको मापदण्ड बमोजिम स्तरोन्नति गरिनेछ’ भन्ने ऐनमा प्रस्ट व्यवस्था छ। उक्त व्यवस्थाबारे नियमावलीले थप व्याख्या गर्दै कहिलेसम्म ‘फेजआउट’ वा ‘अपग्रेड’ गर्ने भन्ने व्यवस्था गर्नुपर्नेमा यसबारे नियमावलीमा कुनै बुँदा राखिएको छैन।

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा नियमावली मस्यौदा प्रस्ताव गर्दा प्रमाणपत्र तहभन्दा मुनिका स्वास्थ्य शिक्षासम्बन्धी कार्यक्रम हटाउने वा स्तरवृद्धि गर्नुपर्ने प्रस्ताव राखेको थियो।

स्रोतका अनुसार अर्थ, शिक्षा, कानुन र स्वास्थ्य मन्त्रालयमा रायका लागि पठाइएका बेला उक्त प्रस्तावका बुँदा स्वार्थ समूहको चलखेलमा हटाएर पारित गरिएको हो।

यी मन्त्रालयका रायअनुसार मन्त्रिपरिषद्ले पारित गरेको नियमावली राजपत्रमा प्रकाशित हुन बाँकी छ।ऐन लागू भएपछि प्रमाणपत्र तहभन्दा मुनिका स्वास्थ्य शिक्षासम्बन्धी कुनै पनि प्राविधिक कार्यक्रमहरू सञ्चालन गरिनेछैन भन्ने व्यवस्था भए पनि अहिलेसम्म सीटीईभीटी लगायतले सीएमए र एएनएमजस्ता कार्यक्रम सञ्चालन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्