२३ बैशाख २०८१, आईतवार

 

बालबालिकामा कोरोनारोधी क्षमता हुने भनी ट्रम्पले दिएको अभिव्यक्ति फेसबुक र ट्विटरले हटाए

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प तथा उनको प्रचार अभियानले प्रेषित गरेका कोरोना भाइरससम्बन्धी सामग्रीलाई फेसबुक र ट्विटरले हटाइदिएका छन् ।तिनमा ट्रम्पले बालबालिकामा कोरोना भाइरसलाई प्रतिरोध गर्ने क्षमता हुने दाबी गरेका थिए।

ट्रम्पले फक्स न्युजलाई दिएको र फेसबुकमा प्रेषित एउटा अन्तर्वार्ताको अंशमा कोभिडसम्बन्धी ‘हानिकारक मिथ्या सूचना’ भएको भन्दै फेसबुकले मेटिदिएको हो । ट्विटरले पनि सोही अंश भएको ट्विट नमेटेसम्मका लागि ट्रम्पको प्रचार अभियानको एकाउन्ट रोकिदिएको थियो ।

अमेरिकी सरकारी निकायले दिएको जनस्वास्थ्यसम्बन्धी सूचनामा बालबालिकामा कोभिड–१९ को प्रतिरोध गर्ने क्षमता नहुने उल्लेख छ।

‘यो भिडियोमा एउटा समूहका मानिसहरू कोभिड–१९ प्रतिरोधी छन् भनेर गरिएको मिथ्या दाबी समाविष्ट छ जुन कोभिडसम्बन्धी हानिकारक मिथ्या सूचनाबारे हाम्रो नीतिहरूको उल्लंघन हो,’ फेसबुकका एक प्रवक्ताले भने। ट्विटरका एक प्रवक्ताले पनि यस्तै बताएका छन् ।

ट्विटरका अनुसार उक्त खाताबाट फेरि अर्को ट्विट गर्नुअघि खातावालले त्यो ट्विट मेट्नुपर्ने जनाइएको थियो। पछि उक्त ट्विट मेटिएको हो ।
कोरोना भाइरस र हाइड्रोक्सिक्लोरोक्वाइनबारे मिथ्या सूचनालाई प्रोत्साहन गरेको भन्दै गत महिना ट्विटरले ट्रम्पका छोराको खाता निलम्बन गरिदिएको थियो।

फक्स टीभीको एउटा कार्यक्रममा बुधवार बिहान टेलिफोनबाट बोल्दै ट्रम्पले देशभरि विद्यालय खोल्नुपर्ने तर्क गरेका थिए। ‘यदि बालबालिकालाई हेर्ने हो भने बालबालिका लगभग, अनि म भन्छु निश्चित रूपमा यो रोगविरुद्ध लगभग प्रतिरोधी छन्।’

बालबालिकाको प्रतिरक्षा प्रणाली अरूको भन्दा बलियो भएको तर्क गर्दै उनले भने, ‘अनि उनीहरूलाई कुनै समस्या छैन, उनीहरूलाई समस्या छँदै छैन ।’

प्रतिक्रिया दिनुहोस्