३ श्रावण २०८३, आईतवार

 

बागलुङमा आधा दशकदेखि बाँकी रहेको विद्युत् महसुल उठ्यो, ४ महिनामै २० लाख बक्यौता संकलन

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले एक दशकदेखि बाँकी रहेको बक्यौता महसुल उठाएको छ । केन्द्रले २० लाख ६१ हजार रुपैयाँ उठाएको हो ।२०७६ मंसिरदेखि चैतको पहिलो सातासम्म ३ सय २४ ग्राहकबाट पुरानो बक्यौता उठाइएको केन्द्रका प्रमुख शिवनारायण गोशलीले नयाँ विश्वलाई बताए ।

‘हामीले महसुल नतिर्ने ३ सय २४ जनाको लाइन काटेका छौं, अरू बक्यौता पनि योजनाबद्ध रूपमा उठाउन ताकेता गरेका छौं,’ उनले भने । केन्द्रका अनुसार महसुल नतिर्नेमा धेरैजसो वर्कसप, क्रसर उद्योग, घरेलु उद्योगका सञ्चालक छन् । ‘

अहिले बाँकी ग्राहकमध्ये धेरैको दस हजारदेखि माथि महसुल रकम छ,’ गोशलीले भने, ‘लकडाउन र कोरोना संक्रमण नभइदिएको भए पुरानो बक्यौता धेरै उठिसक्ने थियो ।

यस्तो संकटको बेला पनि हाम्रा सबै कर्मचारीको प्रयासले तिर्न बाँकी भएका ग्राहकलाई सूचना जारी गरेर महसुल भुक्तान गर्न अनुरोध गरेका छौं ।’ केही ग्राहक लाइन काटिने डरले पुरानो महसुल तिर्न आएको उनले बताए ।

कतिपय कर्मचारीले महसुल उठाउन जाँदा ग्राहकबाट डरधम्की पनि खेप्नुपरेको गोशलीको भनाइ छ । उनका अनुसार अहिले भने ग्राहकले अनलाइनबाट पनि सजिलै महसुल तिरिरहेका छन् । २८ प्रतिशत ग्राहकले अनलाइनबाटै महसृुल तिरेका छन ।

कार्यालयमै आएर महसुल तिर्ने ग्राहकको लागि कोरोनाको स्वास्थ्य मापदण्ड पूरा गरी सेवा दिइएको छ । ‘महसुल तिर्न आएका ग्राहकका लागि सामाजिक दुरी कायम गराउने, साबुन पानीले हात धुन लगाउने, ज्वरो नाप्ने र मास्क लगाउन अनिवार्य गरेका छौं,’ गोशलीले भने ।

‘हामीले सुरुमा ६ महिनादेखि ६ वर्षसम्म महसृुल नतिरेका ग्राहकहरुको लाइन काट्ने अभियान सुरु गरेका थियौ, अब मिटर रिडिङ भएको ६ महिना नाघेका ग्राहकहरुको लाइन काट्ने योजनामा छौं ’ गोशलीले भने ।

ग्राहकलाई महसुल तिर्न सजिलो होस् भनेर केन्द्रले घुम्ती सेवा पनि दिएको छ । ग्राहकले नारायणस्थान, कुस्मिसेरा, गलकोट र बलेवाको घुम्ती सेवामा आएर महसुल तिरेका थिए । साउन र भदौको पहिलो हप्ता लक्ष्यभन्दा धेरै महसुल उठेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung