५ जेष्ठ २०८१, शनिबार

 

कोरोनाको लक्षण देखिएकालाई धौलागिरि अस्पताल जान वडा कार्यालयको आग्रह

बानपा–३ वडा कार्यालयले कोरोनाको लक्षण देखिएका व्यक्तिहरूलाई निजी अस्पताल, क्लिनिक र औषधि पसलमा नजान आग्रह गरेको छ । वडाध्यक्ष लक्ष्मी बाँस्कोटाले आइतबार सूचना प्रकाशन गरी यस्तो आग्रह गरेकी हुन् ।

बागलुङ बजारमा कोरोना लक्षण देखिएका व्यवसायी महिला, छुट्टीमा आएका सैनिक र पसलमा काम गर्ने कर्मचारीले स्थानीय औषधि पसलमा जँचाएर औषधि खाएको समाचार नयाँ विश्वले बाहिर ल्याएको थियो ।

वडामा समुदाय तहमा संक्रमण फैलिन लागेकाले कोरोनाको लक्षण देखिएका व्यक्तिलाई धौलागिरि अस्पतालमा जान, केही समस्या परे नगरको स्वास्थ्य शाखालाई खबर गर्न अनुरोध गरिएको वडाध्यक्ष लक्ष्मी बाँस्कोटाले नयाँ विश्वलाई बताइन् ।

औषधि पसलमा गएका बानपा–३ हाडेपाखाकी संक्रमित महिला, सैनिक र कर्मचारीको स्वाब परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो । उनीहरू अहिले धौलागिरि अस्पतालको आइसोलेसनमा उपचाररत छन् । बानपा–२ बालमन्दिर रोडका औषधि पसल सञ्चालक पनि पाँच दिन होम क्वारेन्टिनमा बसेका थिए । पछि उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

बागलुङ नगरपालिकाका मुख्य नाकामा हेल्प डेस्क र सुरक्षा निगरानी प्रभावकारी नभएको, स्वाब लिइएका सबै व्यक्ति होम क्वारेन्टिनमा नबसेको र औषधी पसल, क्लिनिक र निजी अस्पतालले स्वास्थ्य मापदण्ड पूरा नगरेको समाचार आएपछि जिल्ला प्रशासन र नगरपालिकाले कडाइ गरेका छन् ।

वडाले विनाकाम घरबाट ननिस्कन, कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए स्वाब परीक्षण गर्न, स्वाब लिएका व्यक्तिहरू अनिवार्य होम क्वारेन्टिनमा बस्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्