२ जेष्ठ २०८२, शुक्रबार

 

नेपाल उद्योग वाणिज्य महासंघको चुनाव दसैंअघि नै गर्न सकिन्छ : कार्यदल

नेपाल उद्योग वाणिज्य महासंघको कार्यदलले तयार गरेको सुझाव प्रतिवेदनअनुसार महासंघले दसैँअघि नै नयाँ नेतृत्व पाउने भएको छ । महासंघले गठन गरेको ६ सदस्यीय टोलीले निर्वाचन मोडालिटी र साधारणसभाको प्रक्रियाको सुझाव पेस गरेको हो ।

विज्ञहरूको रायअनुसार तयार पारिएको प्रतिवेदनले दसैँअघि नै महासंघले नेतृत्व पाउने गरी अघि बढ्न सुझाव दिएको छ। महासंघका सचिवलाई प्रतिलिपि बुझाइसकिएको प्रतिवेदन कार्यसमितिलाई बुझाउन भने बाँकी छ ।

उक्त प्रतिवेदनले महासंघको चैतमा रोकिएको साधारणसभा र निर्वाचन गर्न छुट्टाछुट्टै मोडालिटी तयार गरेको छ। साधारणसभा वेबिनार मोडलबाट गर्नुपर्ने भनिएको छ। त्यसका लागि धेरै सदस्यहरूको माग पनि रहेको प्रतिवेदनमा उल्लेख छ । निर्वाचनको हिसाबमा भने ३ किसिमको व्यवस्था प्रस्ताव गरिएको छ।

कार्यदलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत विज्ञहरूसँग पनि महासंघको निर्वाचनबारे छलफल गरेको थियो। महासंघमा १ हजारभन्दा बढी मतदाता सदस्य रहेकाले उनीहरू सम्मिलित भएर निर्वाचन कसरी गर्न सकिन्छ भनेर राय माग गरेको थियो ।

प्रतिवेदनमा भनिएको छ, ‘कोरोना संक्रमण हाल बढिरहेको तर असोजको पहिलो सातादेखि कम हुँदै जाने विज्ञहरूको भनाइ रहेकाले त्यसपछि निर्वाचन गर्न सकिने र काठमाडौंमा नै कोरोना संक्रमणबाट बच्ने सुरक्षा विधि अपनाएर गर्न सकिनेछ ।’

जिल्ला,नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ, एसोसिएट (द्विराष्ट्रिय संघ उवासंघ समेत)लाई काठमाडौंमै फरक–फरक ठाउँमा फराकिलो निर्वाचनको प्रक्रिया अपनाउन सकिने सुझाइएको छ ।

भेला भएर निर्वाचन गर्न नसकिने अवस्था आए थप दुई विकल्प अघि सारिएको छ । पहिलो, प्रदेश–प्रदेशमा निर्वाचन गर्ने र मत संकलन गरेर गणना गर्ने । यो प्रक्रिया पनि अपनाउन नसकिए ई–भोटिङमा जान सकिने उल्लेख छ ।

साउन २१ गते महासंघको कार्यकारिणी सभाले डीबी बस्नेत, अरुणराज सुमार्गी, सुनीलगोपाल श्रेष्ठ, विनोद ढकाल, रञ्जितराज आचार्य र भरतराज आचार्य सम्मिलित कार्यदल बनाएको थियो । उक्त कार्यदललाई १५ दिनको समय दिइएको थियो ।

महासंघको नयाँ नेतृत्वमा अध्यक्षका लागि शेखर गोल्छा तय भइसकेका छन्। महासंघको विधानले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरेको छ। जसअनुसार उनी अध्यक्ष बन्न लागेका हुन् । त्यस्तै अन्य पदका लागि भने निर्वाचन नै हुने भएको छ। वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल र किशोर प्रधानले उम्मेदवारी घोषणा गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung