६ जेष्ठ २०८१, आईतवार

 

ढोरपाटनका बाढीपीडितलाई लक्ष्मण श्री र गायक गौतमका तर्फबाट ५५ हजार

सामाजसेवी तथा व्यवसायी लक्ष्मण श्री र गायक थानेश्वर गौतमले ढोरपाटन बाढीपीडितलाई सहयोग प्रदान गरेका छन् । उनीहरूले ढोरपाटन नगरपालिकाको राहत कोषमा जननी नेपालका तर्फबाट ५५ हजार रुपैयाँ जम्मा गरेका हुन् । दुवै जनाले संयुक्त रूपमा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई रकम हस्तान्तरण गरेका थिए ।

बाढीपीडितको पीडामा थोरै भए पनि राहत दिलाउन व्यक्तिगत तबरबाट उक्त सहयोग गरेको लक्ष्मण श्रीले बताए । ‘अरू विभिन्न व्यक्ति, संघसंस्थाले पनि अभियान चलाइरहेका छन्, कतिपय अभियानमा मैले छुट्टै पनि सहयोग गरेर जोडिएको थिए,’ उनले भने, ‘मुलुक नै स्तब्ध पार्ने यति ठूलो विपद्को हामी सबै मिलेर सामना गर्नुपर्छ भनेर सहयोग गरेका हौं ।’

गौतमले पनि कोरोनाले आतंकित बनाएका बेला आएको विपद् सामनाका लागि सबैको सहयोग जरुरी हुने भएकाले अभियानमा जोडिएको बताए । बुधबारसम्म ढोरपाटन नगरपालिकाको राहत कोषमा ६७ लाख रुपैयाँ संकलन भएको मेयर नेपालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्