७ जेष्ठ २०८१, सोमबार

 

आयात हुनेमा मोबाइल पहिलो नम्बरमा, डिजेल दोस्रो

चालू आर्थिक वर्ष २०७७ र ७८ को पहिलो दुई महिना साउन र भदौमा नेपालमा आयात हुने वस्तुहरूमा मोबाइल फोन पहिलो नम्बरमा परेको छ । साउनमा सबभन्दा बढी डिजेल आयात भए पनि भदौमा मोबाइलले उछिनेको हो ।

पहिल्यैदेखि आयातको सूचीमा डिजेल पहिलो नम्बरमा रहे पनि कोरोना महामारीपछि मोबाइलको आयात बढेको छ । लकडाउनमा यातायात साधन नचलेको र पढाइ र काम अनलाइनबाटै गर्नुपर्दा मोबाइलको माग बढेको सरोकारवालाको भनाइ छ ।

उच्च माग भएकाले पछिल्लो समयमा बजारमा मोबाइल अभावसमेत भएको व्यापारीहरू बताउँछन् । भन्सार विभागका अनुसार चालू आवको पहिलो महिना ४ अर्ब १८ करोडबराबरको ४ लाख ६७ हजार वटा मोबाइल सेट भित्रिएका थिए । भदौ महिनामा त्यसको दुई गुणाभन्दा बढी वृद्धि भई ९ लाख ९५ हजार मोबाइल सेट आयात भएका छन् ।

यी मोबाइल सेटका लागि देशबाट ७ अर्ब ९४ करोड रुपैयाँ बाहिरिएको विभागले जनाएको छ । लकडाउनमा चोरी–निकासीको बाटो बन्द भएकाले पनि मोबाइल आयात बढेको देखिएको मोबाइल आयात संघका अध्यक्ष दीपक मल्होत्राले बताए ।

‘चोरी–निकासीले ४० प्रतिशत बजार लिएको थियो, त्यो अहिले हामीले पाएका छौं,’ उनले भने । चीनबाट ८ लाख ५ हजार, भारतबाट १ लाख ७६ हजार र भियतनामबाट १२ हजार मोबाइल सेट आयात भएको विभागको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्