१ जेष्ठ २०८२, बिहीबार

 

युनियन लाइफले मृतकका परिवारलाई दियो बिमाबापतको ५ लाख


युनियन लाइफ इन्स्योरेन्स कम्पनीको बागलुङ शाखा कार्यालयले मृतकको परिवारलाई बिमा दाबी भुक्तानी गरेको छ । कम्पनीले काठेखोला गाउँपालिका–७ रेसका गगन गुरुङको परिवारलाई सोमबार रकम भुक्तानी गरेको हो ।

उक्त दाबी भुक्तानीबापत काठेखोला–७ का वडाध्यक्ष प्रेम लामिछानेले गुरुङकी पत्नी आनन्ददेवीलाई ५ लाख २५ हजार रुपैयाँ हस्तान्तरण गरेका थिए ।

२०७६ फागुन १२ गते मृत्यु भएका गुरुङले गत वर्ष युनियन लाइफ इन्स्योरेन्समा पहिलो किस्ताबापतको २६ हजार ५ सय ९८ रुपैयाँ तिरेको कम्पनीका प्रादेशिक उपप्रमुख बलराम गौतमले जानकारी दिए । गुरुङले ५ लाखको बिमा गरेको र पहिलो किस्ता बुझाएकाले सोही अनुसार ५ लाख २५ हजार रुपैयाँ भुक्तानी गरिएको उनले बताए ।

कम्पनीले कोरोना महामारीका कारण घरपरिवारले प्रक्रिया पूरा गर्न ढिला गरेकाले भुक्तानी पनि ढिला हुन पुगेको जनायो । कम्पनीका बागलुङ शाखा प्रमुख कमल सापकोटाको अध्यक्षतामा भएको बिमा दाबी हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष लामिछाने, प्रादेशिक उपप्रमुख गौतम, रेस नुनथला माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमबहादुर थापालगायतले मन्तव्य व्यक्त गरेका थिए । कम्पनीको बागलुङ शाखामार्फत हालसम्म १२ सय ७६ जनाले बिमा गरेको शाखा प्रमुख सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung