अपी पावर कम्पनी लिमिटेडले बनाउन लागेको ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजनामा ५ अर्ब १८ करोड रुपैयाँ ऋण लगानी हुने भएको छ ।
हिमालयन बैंकको अगुवाइमा कर्मचारी सञ्चयकोष, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल बंगलादेश बैंक र सेन्चुरी कमर्सियल बैंकले सह–वित्तीयकरणअन्तर्गत आयोजनामा ऋण प्रवाह गर्ने भएका हुन् ।
अपी पावर र हिमालयनबीच आइतबार ऋण लगानीबारे सम्झौता भएको छ । आयोजना निर्माणका लागि सेयरधनीहरूबाट स्वपुँजी जुटाउन चुक्तापुँजी १ अर्ब १३ करोड ४० लाख रुपैयाँको २ः०।४७ को अनुपातमा ५६ करोड ७० लाख रुपैयाँको हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भइसकेको छ । कम्पनीको चुक्तापुँजी १ अर्ब १९ करोड रुपैयाँ छ ।
कम्पनीले तेस्रो आयोजनाका रूपमा ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजना निर्माणको काम सुरु गरेको छ । कम्पनीका अनुसार दार्चुलाको अपी हिमाल गाउँपालिकाको ओखल भन्ने स्थानमा आयोजनाको बाँध बनाई ६ किलोमिटर लामो, ३.२ डायामिटरको पेनस्टक पाइपको सहायताले चमेलिया नदीको पानी फर्काइनेछ ।
मार्मा गाउँपालिकाको घट्टेगाढमा विद्युत्–गृह निर्माण गरी बिजुली उत्पादन गरिनेछ । उक्त बिजुली १६ किलोमिटर लामो १३२ केभी ट्रान्समिसन लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको वलाँच सबस्टेसनमा ल्याई राष्ट्रिय ग्रिडमा जोडिनेछ ।
उक्त आयोजनाबाट वार्षिक २६ करोड ४१ लख युनिट विद्युत उत्पादन हुनेछ । ३० प्रतिशत हिउँदका ६ महिनामा र बाँकी ७० प्रतिशत वर्षाका ६ महिनामा उत्पादन हुनेछ । कम्पनीको हालको अधिकृत पुँजी ५ सय करोड करोड रुपैयाँ, जारी पुँजी ४ सय करोड र चुक्ता पुँजी ११९.०७ करोड रुपैयाँ छ ।













































































































































































































