बागलुङ बजारमा जथाभाबी टाँगिएका तार र पोल हटाउन सुरु गरिएको छ । बागलुङ नगरपालिकाभित्र बिनाअनुमति राखिएका तार सरोकारवालासँगको सहमतिमै काट्न थालिएको हो ।
नगरपालिकाले बागलुङ नगरलाई सुन्दर र सफा बनाउने उद्देश्यले जथाभाबी टाँगिएका निजी इन्टरनेट कम्पनी र केबुल कम्पनीका तार हटाउँदै छ । नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमका पोलहरूमा बागलुङ केबुललगायत निजी क्षेत्रका विभिन्न इन्टरनेट कम्पनीले टाँगेका तार हटाउन दुई वर्षअघि नै निर्णय भएको थियो ।
नगरपालिकाभित्र लथालिंग छाडिएका तारका कारण सवारी दुर्घटना बढ्नुका साथै ट्राफिक व्यवस्थापनमा समेत समस्या निम्तिएको थियो । तार हटाएपछि ट्राफिक व्यवस्थापन पनि सहज हुने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख शिव पाठकले बताए ।
बागलुङ नगरपालिकाले ढिलै भए पनि तार हटाउन सुरु गर्दा बागलुङ बजारको सुन्दरता बढ्नुका साथै ट्राफिक व्यवस्थापन सहज हुने वडा सदस्य अर्जुन घिमिरेको पनि धारणा छ ।
नगरपालिकाको ‘सुन्दर बागलुङ नगर’ बनाउने अभियानलाई सहयोग गर्न नेपाल टेलिकमले पुरानो तामाको तार हटाएर फाइबर जडान गरेको र अब केही समयभित्र पुरानो तार हटेर बजार सुन्दर देखिने नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले बताए ।
तीन वर्षदेखि नेपाल टेलिकम र प्राधिकरणसँग सम्झौता नगरीकन बागलुङ केबुल, गलकोट इन्टरनेट, वल्र्डलिंक इन्टरनेट, पोखरा इन्टरनेटलगायत दर्जनौं इन्टरनेट सेवाप्रदायक कम्पनीहरूले बागलुङ जिल्लाभर मनपरी ढंगले पोलमा तार टाँगेका थिए ।
यसबापत पोलको भाडा तिर्न पटकपटक सूचना जारी गर्दासमेत अटेर गरिरहेका थिए ।शिवधारा चोकबाट सुरु गरिएको तार हटाउने कार्य मुख्य बजारका करिब ५ सय हाराहारी पोल हटाएपछि सम्पन्न हुने बागलुङ नगरपालिकाले जनाएको छ ।













































































































































































































