७ जेष्ठ २०८१, सोमबार

 

अनलाइनबाटै मासिक ५ लाख कमाइ

कोरोनापछिको अवस्थाले धेरैलाई बेरोजगार बनाएको छ । ठूला उद्योगधन्धा र होटल बन्द हुँदा लाखौं नेपालीले एकैपटक रोजगारी गुमाएका छन् भने स्वरोजगारहरूलाई पनि व्यवसायको सञ्चालन खर्च धान्न नै धौ धौ छ ।

तर, कोरोना कहरकै बीच केही सिर्जनशील र फरक ढंगले सोच्न सक्ने युवालाई भने फलिफाप पनि भएको देखिन्छ । खासगरी सूचना प्रविधिसँग अभ्यस्त युवा यसमा अगाडि छन् ।

इलामका एक युवाले घरमै बसेर मासिक तीनदेखि पाँचलाख रुपैयाँसम्म कमाउन थालेका छन् । २५ वर्षीय निर्मल दाहालले अनलाइनबाटै काम गरेर मासिक ५ लाख रुपैयाँसम्म कमाउने गरेको बताए ।

उनको कमाइ जापान, दक्षिण कोरिया गएर काम गरेभन्दा बढी हुने गरेको छ । ‘जागिर खाँदा सधैँ अर्काको निगरानीमा बस्नु पर्छ तर म आफ्नै व्यवसायसँगै राम्रै आम्दानी गरिरहेको छु,’ उनी भन्छन्, ‘मुख्यतः अनलाइन जबलाई प्राथमिकतामा राखेको छु ।

विदेशको भन्दा बढी आम्दानी भएपछि स्वेदशका सहर पनि चहार्नु परेन भने विदेश त जानै परेन । घरबाट विदेशको काम गरेर कमाइरहेको छु । मलाई त कोभिड–१९ ले पनि प्रभाव पारेको छैन ।’

दाहालले अनलाइन विज्ञापन र अनलाइन गेममार्फत विदेशी पैसा भित्र्याउने गरेको बताए । विदेशी कम्पनीले आफ्नो विज्ञापनका लागि आग्रह गर्ने गरेको उनको भनाइ छ ।

ति विज्ञापन विभिन्न अनलाइनका माध्यमबाट प्रचार गरेवापत आफ्नो खातामा गुगल तथा विदेशी कम्पनीमार्फत रकम आउने गरेको उनी बताउँछन् ।

काम गरेवापत पैसा हराउने, नआउने भन्ने चिन्ता समेत नहुने उनको भनाइ छ । ‘सिस्टमअनुसार पाउनुपर्ने पैसा समयमै आउने गरेको छ,’ उनी भन्छन् । यस्तै, सफ्टवेयर निर्माण, वेबसाइट निर्माण, मोवाइल एप्स, फेसबुक र युट्युबमा विज्ञापन लगायतका उनका सेवा छन् ।

प्रतिक्रिया दिनुहोस्