निजी लगानीमा निर्माण हुन लागेको २२ मेगावाटको सेतीखोला जलविद्युत् आयोजनालाई वित्तीय व्यवस्थापन भएको छ । सेती खोला हाइड्रोपावरले निर्माण गर्न लागेको सो आयोजनामा कुमारी बैंकको अगुवाइमा ३ अर्ब २५ करोड रुपैयाँ ऋण लगानी हुने भएको छ । यसका लागि नेपाल इन्फास्ट्रक्चर बैंकले सहवित्तीयकरण गर्दै छ ।
आयोजनामा कुमारीले २ अर्ब र नेपाल इन्फास्ट्रक्चर बैंकले १ अर्ब २५ करोड रुपैयाँ कर्जा लगानी गर्ने भएका छन् । आयोजना र बैंकबीच आइतबार कर्जा लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतामा कुमारीका तर्फबाट नायब महाप्रबन्धक रामचन्द्र खनाल, नेपाल इन्फास्ट्रक्चर बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डे र आयोजनाका तर्फबाट अनुप आचार्यलगायतले हस्ताक्षर गरेका छन् । आचार्यले विद्यमान प्रतिकुल परिस्थितिका बाबजुद परियोजना निर्धारित समयमा सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।
नायब महाप्रबन्धक खनालले कुमारीले हालसम्म ४९ वटा विभिन्न परियोजनामा २२ अर्ब ८५ करोड रुपैयाँ बराबरको कर्जा स्वीकृत गरिसकेको जानकारी गराए । इन्फास्ट्रक्चर बैंकका नायब कार्यकारी अधिकृत पाण्डेले बैंकले हालसम्म ७ वटा विभिन्न परियोजनामा जम्मा ८ अर्ब ३५ करोड रुपैयाँ कर्जा स्वीकृत गरेको जानकारी दिए ।













































































































































































































