३ श्रावण २०८३, आईतवार

 

बिमा कम्पनीले बन्द गरे कोरोना बिमाकाे दाबी तथा भुक्तानी

कोरोना संक्रमण पुष्टि भएको प्रमाणित कागजातसहित दाबी गरेको एक साताभित्र भुक्तानी गर्नुपर्ने कोरोना बिमा मापदण्डमा तोकिए पनि बिमा कम्पनीहरुले बिमाको दाबी तथा भुक्तानी बन्द गरेका छन ।

बिमा कम्पनीहरूले कोरोना बिमा मा सरकारले उपलब्ध गराउने अनुदान रकम प्राप्त नभएसम्म दाबी भुक्तानी गर्न नसकिने बहाना बनाउँदै भुक्तानी गर्न आनाकानी गरिरहेको पीडितहरूले बताएका छन ।

सरकारले सामूहिक बिमा गर्दा लाग्ने शुल्कमा ५० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । सरकारी कर्मचारीको कोरोना बिमामा भने सरकारले शतप्रतिशत अनुदानको व्यवस्था गरेको छ ।

सरकारले अनुदानमा सञ्चालित कृषि बिमा र स्वास्थ्य बिमा कार्यक्रममा पनि अनुदान दिँदै आएको छ । तर, ती बिमामा भने अनुदान रकम प्राप्त नभए पनि कम्पनीहरूले बिमा दाबी भुक्तानी गर्दै आएका छन् । बिमा पोलिसी बिक्री गरिसकेपछि सम्झौताअनुसार कम्पनीहरूले दाबी भुक्तानी गर्नुपर्ने बिमा विज्ञहरु बताउँछन् ।

अनुदान रकम पाउनु–नपाउनु बिमितसँग सम्बन्धित विषय नभएको र यो सरकार र बिमा समितिसँग सम्बन्धित विषय भएको बिमा विज्ञहरुको भनाइ छ । त्यसैले कम्पनीहरूले कुनै पनि बहानामा कोरोना बिमाको भुक्तानी रोक्न नमिल्ने देखिन्छ । सात दिनमा भुक्तानी गर्छौं भन्ने बिमा कम्पनीहरुले अनुदान रकम कुराउनु भनेको बिमितलाई झुक्याउनु मात्र भएको उनीहरुको बुझाइ छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल पनि अनुदान रकम आउन केही समय लाग्ने भए पनि दाबी भुक्तानी भने समयमै गर्नुपर्ने बताउँछन् । ‘कम्पनीहरूले हामीलाई तथ्यांक उपलब्ध गराउँछन् । सोही आधारमा हामी अर्थ मन्त्रालयसँग अनुदान रकम माग गर्छौँ’ उनले भने । अर्थ मन्त्रालयले बिमा समितिलाई अनुदान रकम प्रदान गर्नेछ । समितिका कार्यकारी निर्देशक पौडेलले समितिले कोरोना बिमा पुललाई रकम भुक्तानी गर्ने बताए । नयाँ पत्रिका दैनिकले  खबर छापेकाे छ ।

साढे ५ हजार दाबीको भएन भुक्तानी
बिमा कम्पनीहरूमा परेका ५ हजार ३ सय ६१ वटा कोरोना दाबीको भुक्तानी हुन सकेको छैन । बिमा समितिको तथ्यांकअनुसार कम्पनीहरूले सो संख्याको दाबीबापत ५१ करोड ८८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

गत बुधबारसम्ममा निर्जीवन बिमा कम्पनीहरूले १ लाख ४५ हजार ५ सय ७० वटा कोरोना बीमा पोलिसी जारी गरेका छन् । जसबापत कम्पनीहरूले ७९ करोड ६१ लाख रुपैयाँ बिमाशुल्क संकलन गरिसकेका छन् । जसमध्ये कम्पनीहरूले ८७ वटा निःशुल्क अनुदान बिमा पोलिसी जारी गरेका छन् । सो अवधिसम्ममा कम्पनीहरूले ८ सय १७ वटा दाबीबापत ७ करोड ६६ लाख रुपैयाँ भुक्तानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung