२६ बैशाख २०८१, बुधबार

 

वर्ल्डलिंकले फेसबुकसँग मिलेर निःशुल्क ‘एक्सप्रेस वाइफाई’ दिने

नेपालको तेस्रो ठूलो दूरसञ्चार सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसनले फेसबुकसँगको सहकार्यमा एक्सप्रेस वाइफाई दिने घोषणा गरेको छ । कम्पनीले ७ हजार ५ सय स्थानमा एक्सप्रेस वाइफाई दिने योजना अघि सारेको हो ।

फेसबुकले एक्सप्रेस वाइफाईका लागि विभिन्न देशमा रहेका स्थानीय इन्टरनेट सेवाप्रदायकसँग सहकार्य गर्दै आएको छ ।वर्ल्डलिंकले बिहीबार भर्चुअल पत्रकार सम्मेलन गर्दै फेसबुकसँग सहकार्य गरिएको आधिकारिक रूपमा जानकारी दिएको छ । अब तत्काल एसियाका दुई देश भारत र नेपालमा वाइफाई एक्सप्रेसमा यो सेवा उपलब्ध हुनेछ ।

वर्ल्डलिंकका अनुसार यो सेवाको शुभारम्भपछि पब्लिक वाइफाई उच्च गतिको हुनेछ । हाल वर्ल्डलिंकले देशभर १० हजार साइटमा पब्लिक वाइफाई उपलब्ध गराइसकेको छ । पब्लिक वाइफाईअन्तर्गत देशका ३० हजार ठाउँमा फ्री वाइफाई विस्तार गर्ने कम्पनीको योजना छ ।

वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले सुरुवाती समयदेखि नै नेपाली जनतामा कनेक्टिभिटी उपलब्ध गराउने सन्दर्भमा अग्रसरता देखाएको बताए । उनलेलामो समयदेखि सरकारले नेपालका इन्टरनेट सेवा प्रदायकलाई फ्रिक्वेन्सी नदिएको गुनासोसमेत गरे । अग्रवालका अनुसार एफटीटीएच सेवा खरिद गर्न नसक्ने सर्वसाधारण तथा गरिब घरपरिवारलाई लक्षित गर्दै वाइफाई सेवा सुरु गरिएको हो ।

‘हामीसँग इन्टरनेट थियो तर आवश्यक राम्रो सफ्टवेयर सिस्टम थिएन,’ उनले भने, ‘त्यसैका लागि फेसबुकसँग सहकार्य सुरु भएको हो’ । फ्री वाईफाई राखिएका स्थानहरूमा १५ मिनेटदेखि दुई घण्टाको सीमा हुनेछ । वर्ल्डलिंकले फ्रिक्वेन्सी पाएको खण्डमा देशभर दैनिक दुई घण्टा निःशुल्क इन्टरनेट दिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्