२६ बैशाख २०८१, बुधबार

 

अनलाइन कक्षाले ह्वात्तै बढ्यो मोबाइल बिक्री, रित्तिँदै व्यापारीका गोदाम

विगत वर्षका दसैंमा झन्डै १ अर्ब रुपैयाँका मोबाइल फोन बिक्थे । कोरोनाका कारण यसपालि व्यापार झन्डै ३० प्रतिशतले खुम्चिएको छ । तैपनि व्यापारीका गोदाममा मोबाइल स्टक छैनन् ।

सबैजसो विद्यालयले अनलाइन क्लास लिन थालेपछि स्टक रहेका मोबाइल बिक्री भएका हुन् । नेपालमा सामसुङ, एमआई, ओप्पो, रियलमीजस्ता मोबाइल बढी बिक्री हुने गरेका छन् । ‘विद्यालयहरूमा अनलाइन कक्षाका कारण मोबाइलको माग अत्यधिक बढेको छ, बाहिरबाट पर्याप्त सामान आउन पाएन,’ नेपाल मोबाइल वितरक संघका अध्यक्ष जगत साउद साउदले भने, ‘नयाँ सामान नआउँदा मौज्दातमा नरहेका कारण कुनै स्किमका कार्यक्रम आवश्यक देखिएको छैन ।’

व्यवसायीले विगतमा मौज्दात सकाउन विभिन्न स्किम ल्याउने गर्थे । यसले मूल्य घटाउन प्रतिस्पर्धा हुन्थ्यो भने डिलरले रिटेलरलाई पनि ‘टार्गेट’ दिने गर्थे । लामो समयको लकडाउन र निषेधाज्ञाका कारण मोबाइल, ल्यापटपजस्ता सामान अभाव भएकाले आएको माग पनि पूरा गर्न नसकिएको साउदको भनाइ छ ।

भन्सार विभागका अनुसार भदौमा मात्रै नेपालमा ७ अर्ब ९४ करोड २४ लाख ५९ हजार रुपैयाँबराबरका ९ लाख ९५ हजार ५ सयवटा मोबाइल सेट आयात भएका छन् । गत वर्ष भदौमा ५ अर्ब १० करोड ४६ लाख रुपैयाँबराबरको ११ लाख ४ हजारवटा मोबाइल आयात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्