६ जेष्ठ २०८१, आईतवार

 

यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवि ग्लुकलाई

यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवि लुइज ग्लुकलाई प्रदान गरिने भएको छ । उनलाई सुन्दर काव्यात्मक आवाजका लागि पुरस्कार प्रदान गर्ने निर्णय भएको पुरस्कार दिने संस्था स्विडिस एकेडेमीले जनाएको छ ।

यसअघि चिकित्साशास्त्र, भौतिक शास्त्र र रसायनशास्त्रका विजेताको नाम घोषणा भइसकेको छ । गत वर्ष पोलिस लेखक ओल्गा तोकाचुक र अस्ट्रियाका नाटकका पिटर हान्क दुवै जनालाई साहित्यतर्फको नोबल पुरस्कार प्रदान गरिएको थियो । आफ्नो पुस्ताको नेतृत्वदायी उपन्यासकार भनेर चिनिने तोकाचुकलाई सन् २०१८ को पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार प्रदान गर्ने स्विडिस एकेडेमीमा भएको एउटा आर्थिक र यौन–उत्पीडनसम्बन्धी विवादका कारण सन् २०१८ का लागि पुरस्कार स्थगित गरिएको थियो । सन् २०१९ को साहित्यतर्फको नोबल पुरस्कार भने पिटर हान्कले पाएका थिए ।

समीक्षकका अनुसार ग्लुकका कवितामा मानव हुनुको पीडादायक यथार्थको चित्रण गरिएको हुन्छ । उनी मृत्यु, बाल्यकाल र पारिवारिक जीवनलाई काव्यिक शैलीमा प्रस्तुत गर्न सिपालु छिन् । उनले सन् १९९३ मा द वाइल्ड आइरिसका लागि पुलिट्जर पुरस्कार र सन् २०१४ मा नेसनल बुक अवार्ड पाएकी थिइन् ।

सन् २००६ मा प्रकाशित उनको कृति ‘अभेर्नो’बारे उल्लेख गर्दै एकेडेमीले त्यो उत्कृष्ट संकलन भएको तथा त्यसमा पर्सिफोन नरक झरेको र मृत्युका देवता हेड्सको नियन्त्रणमा परेको मिथकलाई काल्पनिक चित्रण गरिएको जनाएको छ । उनको अर्को प्रसिद्ध काव्यकृति फेथफुल हो ।

प्रतिक्रिया दिनुहोस्