२७ बैशाख २०८१, बिहीबार

 

मोबाइल मनी सेवा पुसभित्रै : टेलिकम

नेपाल टेलिकमले आगामी चार महिनाभित्र मोबाइल मनी सेवा सुरु गर्ने भएको छ । आगामी पुसभित्रै मोबाइल ब्यालेन्सबाटै भुक्तानी गर्न मिल्ने सेवा सुरु गर्ने टेलिकमको तयारी छ ।

नेपाल राष्ट्र बैंकले नेपाल टेलिकमलाई युटिलिटी पेमेन्ट सर्भिससहितको भुक्तानी सेवा (सञ्चालन गर्न साउन ४ गते आशयपत्र दिएको थियो ।
मोबाइल मनी सेवाका लागि राष्ट्रिय वाणिज्य बैंक र टेलिकमले संयुक्त रूपमा छुट्टै कम्पनी स्थापना गरिसकेका छन् ।

मोबाइल मनी सेवा अर्थात् डिजिटल पेमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा गत साउन तेस्रो साता टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारी नियुक्त भइसकेका छन् ।

डिजिटल पेमेन्ट सेवाका लागि टेलिकमलाई नेपाल दूरसञ्चार प्राधिकरणले गत माघ १४ मा अनुमति दिएको थियो । नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले आगामी तीन महिनाभित्रै डिजिटल पेमेन्ट सेवा सुरु हुने बताए ।

गत केही महिनाअगाडि भुक्तानी सेवा सुरु गर्न नेपाल राष्ट्र बैंकले टेलिकमलाई अनुमति दिइसकेको छ । प्रवक्ता जोशीका अनुसार राष्ट्र बैंकले साउन पहिलो साता टेलिकमलाई ६ महिनाभित्र मोबाइल मनी सेवा सुरु गर्ने गरी भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र प्रदान गरेको थियो ।

हाल टेलिकमले मोबाइल मनी सेवाका लागि हार्डवेयर र सफ्टवेयर खरिदका लागि गरिएको ठेक्काको आर्थिक प्रस्ताव खोलिसकेको छ । प्राविधिक मूल्यांकन सकिएपछि १० दिनभित्र ठेक्काको नतिजा सार्वजनिक गर्ने टेलिकमको तयारी छ । प्राविधिक मूल्यांकनपछि ठेक्का नतिजा आउँछ । सम्झौता भएको तीन महिनाभित्र काम गर्ने गरी सम्झौता गर्ने टेलिकमको भनाइ छ ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले टेलिकमकै नेतृत्वमा नै यो सेवा सञ्चालन गर्दा दूरदराजमा रहेका मानिसमा पनि डिजिटल कारोबारको पहुँच पुग्ने बताए ।

‘बैंकिङ सेवा नपुगेको ठाउँमा पनि टेलिकमको सेवा पुगेको छ । धेरै मानिसले टेलिकमअन्तर्गतको नै मोबाइल नम्बर प्रयोग गर्छन्,’ उनले भने, ‘यस अवस्थामा उनीहरूलाई बैंकिङ सेवामा ल्याउन सहज हुने अपेक्षा पनि छ ।’

प्रतिक्रिया दिनुहोस्