२६ बैशाख २०८१, बुधबार

 

कात्तिक ७ गतेपछि विदेशी च्यानलमा विज्ञापन प्रसारण गरे कारवाही

सरकारले कात्तिक ७ गतेबाटै ‘क्लिन फिड’ अर्थात् विज्ञापनरहित विदेशी च्यानल प्रसारण गर्नुपर्ने निर्देशन दिएको छ । विज्ञापन ऐन–२०७६ को प्रावधानअनुसार आगामी कात्तिक ७ देखि नेपालमा ‘क्लिन फिड’ लागू गर्नुपर्ने भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार विज्ञप्ति निकालेको छ ।

मन्त्रालयका अनुसार कात्तिक ७ गतेपछि विदेशी च्यालनमा विज्ञापन प्रसारण गरेको पाइएमा कानुनअनुसार कारवाही हुने पनि चेतावनी दिएको छ ।

इण्डियन ब्रोडकास्टर फोरम, डिस्कभरी नेटवर्क, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासङ्घलगायत संस्थाले क्लिन फिडको म्याद थप गर्न पत्र पठाएकोमा पनि मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।

ऐनले नै एक वर्षको तयारी अवधि दिएको र त्यो तयारी अवधि कात्तिक ७ गते सकिने भएकाले कात्तिक ७ गतेपछि सबै विदेशी च्यानल अनिवार्यरुपमा विज्ञापन रहित बनाउन मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्