२९ बैशाख २०८२, सोमबार

 

ऋणले थलिएका अनिल अम्बानीको कस्तो छ अर्बपति दाजुसँगको सम्बन्ध ?

एकातिर विश्वकै टप १० धनाढ्यको सूचीमा रहेका दाजु, अर्कातिर अर्बौंको ऋणले थिचिएर जेल जानुपर्ने अवस्थामा पुगेका भाइ । भारतीय व्यापारिक घरानाका दाजुभाइ मुकेश अम्बानी र अनिल अम्बानीको तनावपूर्ण सम्बन्धको चर्चा बेलाबेलामा हुने गर्छ ।

हाल चीनका तीन बैंकलाई निकै ठूलो ऋण तिर्नुपर्ने अवस्थाबीच बेलायतको अदालतमा उपस्थित रहेका अनिललाई दाजु मुकेशले वित्तीय रूपमा सहयोग गर्ने गरी सुमधुर सम्बन्ध नरहेको खुलासा भएको छ । यसअघि पनि अर्बपति दाजु मुकेशले भाइ अनिललाई जेल जानबाट जोगाउन कुनै वित्तीय सहायताको पहल नगरेको दाबी गरिएको छ । सन् २०१९ को मार्चमा टुंगिएको इरिक्सनसँगको मुद्दामा पनि दाजु मुकेशले व्यक्तिगत रूपमा कुनै सहयोग नगरेको दाबी बेलायती अदालतसमक्ष गरिएको छ ।

स्विडिस कम्पनी इरिक्सनलाई तिर्नुपर्ने रकमका लागि अनिलको समस्याग्रस्त रिलायन्स कम्युनिकेसन्स आरकमले ४६० करोड भारुको बन्दोबस्त गर्न दाजु मुकेशको रिलायन्स इन्डस्ट्रिजलाई आफ्ना ‘कर्पोरेट एसेट’हरू लिजमा दिएको सार्वजनिक भएको छ । यससम्बन्धी वैधानिक कानुनी कागजपत्र बेलायतको अदालतमा हालै अनिलले पेस गरेका छन् ।

चिनियाँ बैंकहरूसँगको वित्तीय विवादमा अदालत पुगेका अनिलले यसअघिको मुद्दामा दाजुबाट व्यक्तिगत सहयोग नपाएकोबारे कानुनी कागजपत्र पेस गरेका हुन् । अनिल अम्बानीका प्रवक्ताले भनेका छन्, ‘इरिक्सनको पैसा तिर्न कम्पनीले कर्पोरेट एसेटहरूको माध्यमबाट पैसा उठाएको थियो । कुनै पनि रकम मुकेशको व्यक्तिगत स्रोतबाट अनिलका लागि प्राप्त भएको होइन, न त मुकेशले भाइ अनिललाई कुनै उपहार दिएका हुन् ।’

तर उक्त रकमका लागि अनिलको कम्पनीले कुन सम्पत्ति लिजमा दिएको भन्नेबारे भने स्पष्ट भएको छैन । सन् २०१९ को मार्चमा रिलायन्स कम्युनिकेसन्स आरकमले स्विडिस टेलिकम उपकरण निर्माता इरिक्सनलाई ४५८.७७ करोड भारु तिरेर सबै विवाद समाधान गरेको थियो ।

यसपछि मात्र अनिल जेल जानबाट जोगिएका थिए । त्यस बेला विज्ञप्ति जारी गर्दै उनले भनेका थिए, ‘मेरो दाजु मुकेश तथा नीताप्रति आभारी छु किनभने मेरो कठिन घडीमा उहाँहरू मेरो साथमा उभिनुभयो र बलियो पारिवारिक मूल्य–मान्यता प्रदर्शन गर्दै परिवारको महत्त्वलाई सार्थक बनाइदिनुभयो । म र मेरो परिवार उहाँहरूको यो सदाशयप्रति असाध्यै अनुगृहीत छौं । दाजुभाउजूको यो सहायताबाट नतमस्तक भएका छौं ।’ त्यसको डेढ वर्षपछि अनिलको रिलायन्स ग्रुपका प्रवक्ताले नै उक्त प्रेस विज्ञप्तिबारे स्पष्टीकरण दिँदै त्यो आरकमका अध्यक्ष अनिलले रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष तथा निर्देशक मुकेश तथा नीतालाई धन्यवाद दिएको पत्र भएको बताएका छन् ।

दुवै समूहका निकट सूत्रहरूका अनुसार दाजुभाइबीचको सम्बन्ध हार्दिकतापूर्ण छैन । दाजु मुकेशले ऋणको बोझले थलिएका अनिललाई बाहिर निकाल्न सौहार्दपूर्ण कदम अघि नबढाउनेतर्फ संकेत गरेका छन् । अनिलका दुई कम्पनी आरकम र रिलायन्स नाभल एन्ड इन्जिनियरिङ लिमिटेड हाल टाट पल्टिएको घोषणाको प्रक्रियामा छन् । आरकमको लिलामी हुने सम्पत्तिको एक हिस्सामा बोली लगाउने कम्पनी मुकेशको रिलायन्स जियो पनि हो ।

अनिल रिलायन्स इन्फ्रास्ट्रक्चर, रिलायन्स पावर तथा रिलायन्स क्यापिटलजस्ता मुख्य कम्पनीको ऋणले थलिएका छन् । स्टक मार्केटमा यी सबै कम्पनीको संयुक्त मूल्य १६ सय करोड भारु मात्र छ । हालै एस बैंकले अनिल अम्बानीको केन्द्रीय कार्यालय रहेको सान्टाक्रुजस्थित भवन तथा दक्षिणी मुम्बईका अन्य दुई कार्यालयलाई पनि आफ्नो कब्जामा लिएर ऋण असुली गर्ने प्रक्रिया अघि बढाइसकेको थियो । तर दिल्ली उच्च अदालतले अनिल अम्बानीको पक्षमा ‘स्टे अर्डर’ जारी गरेको छ ।

अदालतको आगामी निर्देशनबिना टाट पल्टिएको प्रक्रियालाई स्थगित गर्न र उनको सम्पत्ति जफतको प्रक्रिया रोक्न अदालतले आदेश दिएपछि अनिललाई केही समयका लागि राहत मिलेको छ । कुनै समय ४२ अर्ब डलरका साथ विश्वकै छैटौं धनाढ्य अनिललाई गत मेमा बेलायती अदालतले चीनको इन्डस्ट्रियल एन्ड कमर्सियल बैंक, एक्सपोर्ट इम्पोर्ट बैंक तथा चाइना डेभलपमेन्ट बैंकलाई ७१६ मिलियन डलर तिर्न आदेश दिएको थियो । यसअन्तर्गत ती बैंकको ब्याज तथा कानुनी उपचार खर्चसमेत जोडिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung