२६ बैशाख २०८१, बुधबार

 

युट्युवले यी भिडियो हटाउने

युट्युवले कोरोना भाइरसका बारेमा भ्रम फैलाउने भिडियोहरु आफै हटाइदिने भएको छ । युट्युवमा कतिपयले भ्रामक भिडियोहरु पोष्ट गरेर समाजमा नकारात्मक असर परेको भन्दै आलोचना भएपछि युट्युवले त्यस्ता भिडियो हटाउने घोषणा गरेको हो । विश्व स्वास्थ्य संगठनले मान्यता नदिए पनि कतिपय व्यक्तिहरुले कोरोना विरुद्धको औषधि वा खोप पत्ता लागेको भन्दै युट्युवमा राखेको भिडियो बढी विवादमा पर्दै आएको छ ।

युट्युवका प्रवक्ता फर्शाद शाड्लुद्धारा जारी वक्तव्यमा लेखिएको छ, ‘कोरोना भाइरसका विरुद्धमा प्रयोग हुने औषधि वा खोप भन्दै कतिपय भ्रमण छर्ने भिडियोहरु युट्युवमा प्रयोग भएको र त्यसका बारेमा उजुरीहरु समेत आएकाले त्यस्ता भिडियोहरु हटाउने निर्णय गरिएको हो ।’ स्वास्थ्य जस्तो संवेदनशील विषयमा भ्रम छर्ने भिडियोहरुले मानव जीवनमाथि नै खतरा उत्पन्न गर्न सक्ने भएकाले त्यस्ता भिडियो हटाउन बाध्य भएको उनको भनाई छ ।

गलत तथा भ्रामक भिडियोहरु नै बढी हेरिएकाले पनि त्यस्ता भिडियोहरु सामाजिक तथा मानवहितका लागि हानीकारक भएको युट्युवको ठम्याई छ । कस्ता कस्तो भिडियो हटाउने भन्ने बारेमा निर्देशिका नै बनाइएको छ । आवश्यक गृहकार्यहरु पनि गरिएको युट्युवका प्रवक्ता शाड्लुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्