२७ बैशाख २०८१, बिहीबार

 

टेलिकमको ल्यायो चाडवाड अफर, यसरी लिनुहोस् प्याक

नेपाल टेलिकमले चाडवाडको समयलाई लक्षित गर्दै विभिन्न अफर ल्याएको छ । कम्पनीले अनलिमिटेड युट्युव र फेसबुक चलाउन मिल्ने गरी नयाँ अफर ल्याएको हो ।

कम्पनीको मोबाइल सेवामा समर अफरअन्तर्गत हाल उपलब्ध विभिन्न प्याकेजलाई थप परिमार्जन गरी बिहीबारदेखि तीन महिनासम्म लागू हुने गरी अटम अफर ल्याइएको छ । जसअन्तर्गत नयाँ प्याकेजको रुपमा सोसल मिडिया प्याक उपलब्ध हुनेछ ।

यसमा तीन दिनसम्म चलाउन मिल्नेगरी ५५ रुपैयाँमा युट्युव अनलिमिटेड र फेसबुक अनलिमिटेड प्याकेज छुट्टाछुट्टै रुपमा उपलब्ध हुने जनाइएको छ ।

यी अफर खरिद गरे पश्चात् सहुलियत स्वरुप १५ रुपैयाँमा तीन दिनसम्म सबै किसिमका एप्लिकेसन प्रयोग गर्न सकिने गरी एक जिबी डेटाको एड अन प्याक समेत खरिद गर्न सकिनेछ । यसअघि ४० रुपैयाँमा तीन दिनका लागि ५५ मिनेटको भ्वाइस प्याक उपलब्ध गराइरहेकोमा अब सोही दरमा ७० मिनेट टकटाइम पाइनेछ ।
साथै १५ रुपैयाँमा ‘वान नाइट अनलिमिटेड’ भ्वाइस कल उपलब्ध हुनेछ । यसअघि उपलब्ध अल टाइम भ्वाइस प्याकअन्तर्गत १ दिन, ७ दिन, २८ दिन र ३५ दिनका लागि उपलब्ध भ्वाइस प्याकहरु यथावत् राखिएका छन् ।

त्यसैगरी राति १० बजेदेखि बिहान ७ बजेसम्म चलाउन मिल्ने नाइट भ्वाइस प्याक र बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म चलाउन मिल्ने विभिन्न दरका डे भ्वाइस प्याक पनि यथावत रहनेछन् । यसअघि ‘वान डे डेटा प्याक’ अन्तर्गत कुनैपनि समय चलाउन मिल्ने प्याक १५ रुपैयाँमा ६० एमबी उपलब्ध हुने गरेकोमा अब १०० एमबी प्राप्त गर्न सकिनेछ ।

त्यसैगरी ‘थ्री डे डाटा प्याक’ अन्तर्गत ६० रुपैयाँमा ४ सय एमबी उपलब्ध हुने गरेकोमा अब ५ सय एमबी प्राप्त गर्न सकिनेछ । वान डे डेटा प्याक अन्तर्गत बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म चलाउन मिल्ने डाटा प्याकको भोलुम पनि पहिलेभन्दा बढाइएको छ ।

यस अन्तर्गत १० रुपैयाँमा ८० एमबी डेटा उपलब्ध हुने गरेकोमा अब १२० एमबी र १५ रुपैयाँमा २५० एमबी डेटा पाउन सकिनेछ । यसैगरी टेलिकमले घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म लागू हुने ‘दशैं अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागू हुने ‘तिहार अफर’ पनि ल्याएको छ ।

जसअन्तर्गत दशैं तिहार र छठ पर्वलाई समेत समेटेर जीएसएम तथा सीडीएमए मोबाइलको रिचार्जमा कुराकानीका लागि अतिरिक्त मिनेट बोनसका रुपमा उपलब्ध गराइनेछ । यसमा रिचार्ज कार्डबाट ५० को रिचार्ज वा एमपोसबाट २० देखि ५० सम्मको रिचार्ज गर्दा सोही दिन प्रयोग गर्न सकिने गरी पाँच मिनेट बोनस प्राप्त हुनेछ ।
रिचार्जकार्डबाट १०० रुपैयाँ वा एमपोसबाट ५१ देखि १०० को रिचार्ज गर्दा सोही दिन प्रयोग गर्न मिल्ने गरी थप १० मिनेट बोनस टकटाइम प्राप्त हुनेछ । रिचार्ज कार्डबाट २०० रुपैयाँको वा एमपोसबाट १०१ देखि २०० रुपैयाँको रिचार्ज गर्दा सोही दिन प्रयोग गर्न सकिने गरी २० मिनेट थप बोनस प्राप्त गर्न सकिनेछ ।

एमपोसबाट २०१ देखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्न मिल्ने गरी ३० मिनेट बोनस प्राप्त गर्न सकिनेछ । यसैगरी, रिचार्ज कार्डबाट ५०० रुपैयाँको वा एमपोसबाट ५०० देखि ९९९ रुपैयाँसम्मको रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने गरी ५० मिनेट बोनस प्राप्त हुनेछ ।

साथै, रिचार्ज कार्डबाट १००० रुपैयाँ वा एमपोसबाट १००० हजार वा सोभन्दा माथि रिचार्ज गर्दा दुई दिन प्रयोग गर्न सकिने गरी १०० मिनेट बोनस टकटाइम प्राप्त हुनेछ । यसका साथै मिति २०७७ कात्तिक १ गतेबाट नेपाल टेलिकम एप पहिलो पटक डाउनलोड गर्दा ५०० एमबी डेटा एक पटकका लागि निःशुल्क प्राप्त हुनेछ ।

यसैगरी *444# डायल गरी फोरजी सेवामा सिमकार्ड स्तरोन्नती गर्दा एक पटकका लागि ५०० एमबी (सबै नेटवर्कमा) र थप ५०० एमबी फोरजी नेटवर्कमा प्रयोग गर्न सकिने गरी निःशुल्क प्राप्त हुनेछ ।यसअघि विद्यार्थीहरुका लागि मात्र उपलब्ध रहेको ह्याप्पी लर्निङ प्याक अब सबै ग्राहकले प्रयोग गर्न पाउने कम्पनीले जनाएको छ ।

यो प्याक लिनका लागि अब सम्बन्धित निकायको सिफारिश समेत आवश्यक पर्नेछैन । टेलिकमका प्रयोगकर्ताले *1415#डायल गरी विभिन्न प्याकेज खरिद गर्न सक्नेछन् । साथै टेलिकमको मोबाइल एपबाट समेत प्याकेजहरु खरिद गर्न सकिने छ । साथै कम्पनीको एप तथा वेबसाइटमार्फत यस सम्बन्धी विस्तृत जानकारी पनि लिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्