साढे ७ हजार रूपैयाँ शुल्क लिँदै आएका पोखराका प्याराग्लाडिङ कम्पनीले ३ हजारमै उडाउन थालेपछि आन्तरिक पर्यटक बढेका छन्। बन्द रहेको पर्यटकीय गतिविधि पुनः चलायमान हुन थालेको पोखरामा प्याराग्लाइडिङले बल दिएको छ।
यहाँका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थालेपछि दैनिक दुई सय जनाभन्दा बढी साहसी खेलप्रेमी आकाशमा उड्न थालेका छन् । लामो समयको बन्दाबन्दीका कारण मनोरञ्जनलगायत गतिविधिबाट वञ्चित भएकाहरुलाई आकाशमा उड्न सस्तो कार्यक्रम ल्याइएको छ ।
कम्पनीहरुले लामो समयको बन्दाबन्दी खुलेसँगै गत असोज १५ देखि व्यावसायिक उडान शुरु गरेका थिए । बाह्य पर्यटकको आगमन शून्य छ।
यस्तो अवस्थामा आन्तरिक पर्यटकबाटै पर्यटकीय गतिविधिलाई चलायमान बनाउन नाफा नहेरी उडानलाई निरन्तरता दिइएको नेपाल हवाई खेलकूद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले बताए ।
‘हामीले पर्यटकीय गतिविधि भएको छ भन्ने सन्देश दिन मात्र खोजेका हौं। त्यसैले घाटा नै भए पनि प्याराग्लाइडिङ हौं,’ उनले भने, ुअहिले दैनिक पोखरा र आसपासका करीब दुई सय आन्तरिक पर्यटकले उडान गर्नुभएको छ ।’
पर्यटकीय मौसम भए पनि कोरोनाले ठप्प भएका अवस्थामा सस्तो कार्यक्रममार्फत आन्तरिक पर्यटकलाई जोड दिएर उडान गरिएको उनले बताए। कोरोनाको जोखिमप्रति सतर्कतासहित प्याराग्लाइडिङ कम्पनीको अनुगमनसमेत गरेर ‘सेफ्टी र सेक्युरिटी’लाई समेत ध्यान दिइएको भण्डारीले बताए ।
हिमालय स्काइ एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीका सञ्चालक एवं पाइलट माधव तिवारीले अहिले १५ देखि ३५ वर्षसम्म उमेरका युवाले उडानमा बढी रुचि राखेको बताए। विशेष गरी कलेजका विद्यार्थी, कर्मचारी, व्यवसायीलगायत पारिवारिक रुपमा समेत उडानका लागि आउने गरेको उनको भनाइ छ ।
नेपाल हवाई खेलकूद संस्थाको सचिवसमेत रहेका तिवारीका अनुसार उडान गर्नेहरुमा कास्कीका ८० र २० प्रतिशत पोखराआसपासका जिल्लाबाट आउने गरेका छन् । यसअघि दैनिक करीब पाँच सय उडान हुने गरेकामा अहिले आन्तरिक पर्यटक मात्रै दैनिक करीब दुई सयले उडान गर्ने गरेको छ।
पोखरामा हवाई खेलकूद संस्थाबाट प्याराग्लाइडिङ उडान अनुमति लिएका ३३८ प्यारापाइलट छन्, जसमा १२ महिला छन् । बन्दाबन्दी अगाडिसम्म १०१२ विदेशी प्यारापाइलट यस क्षेत्रमा थिए भने अहिले नेपाली मात्रै छन् । पोखरामा ६० प्याराग्लाइडिङ कम्पनी छन् । यस क्षेत्रमा करीब एक अर्ब रूपैयाँको लगानी छ ।







































































































































































































