२६ बैशाख २०८१, बुधबार

 

आगामी वर्षबाट प्रविधियुक्त ट्राफिक व्यवस्थापन : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि सडक सञ्जाल विस्तारलगायत कामलाई सरकारले प्राथमिकता दिने बताएका छन् ।

उपत्यकालगायत देशका विभिन्न ठाउँमा हुने ट्राफिक जामलाई कम गर्न गुणस्तरीय सडक निर्माण, कालोपत्र गर्ने र सडक सञ्जाल विस्तारलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाउने उनको भनाइ छ ।

गृह मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री थापाले ट्राफिक व्यवस्थापनका लागि सरकारले ऐन निर्माणको कामलाई पनि तदारुकतासाथ अगाडि बढाउने बताए । आगामी वर्षबाट ट्राफिक व्यवस्थापनलाई प्रविधियुक्त बनाउने कुरालाई पनि सरकारले ध्यान दिने उनले बताए ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ट्राफिक नियम थाहा भएर पनि पालना नगर्नेहरूका लागि कडा कानुनको आवश्यकता रहेको बताए । ट्राफिक नियम जानीजानी उल्लंघन गर्नेहरूमाथि हुने जरिवाना रकम बढाउनुपर्ने उल्लेख गर्दै उनले लाइसेन्स वितरणमा पनि कडाइ गर्नुपर्ने बताए ।

कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीम ढकालले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी एकीकृत कार्ययोजना २०७७ प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्