४ श्रावण २०८३, सोमबार

 

कोरोनाले उत्पादन घटेपछि खाद्यान्नको मूल्य बढ्यो

अन्तर्राष्ट्रिय बजारमा खाद्यान्नको मूल्यमा भारी वृद्धि भएपछि त्यसको प्रत्यक्ष असर नेपालमा पनि परेको छ । कोरोना महामारीका कारण उत्पादनमा कमी र विश्व बजारमा माग अत्यधिक हुन थालेपछि चामलबाहेक अन्य खाद्यान्नको मूल्य बढेको उद्योगीहरूले बताएका छन् ।

तर, अहिलेसम्म चामलको मूल्य बढेको छैन । ‘एक महिनाकै बीचमा थेगिनसक्नु गरी मूल्य बढेको छ,’ निम्बस ग्रुपका कार्यकारी निर्देशक डा. दिनेश गौतमले भने, ‘सनफ्लावर तेलमा त ४० प्रतिशतसम्म मूल्य बढेको छ ।

त्यसबाहेक दाल, अन्य तेलको समेत मूल्य बढेको छ ।’उद्योगीका अनुसार पाम आयलको मूल्य प्रतिटन ६ सय डलर हाराहारी हुन्थ्यो । त्यो मूल्य बढेर अहिले प्रतिटन ८ सयदेखि ८ सय २५ डलरसम्म पुगेको छ ।

पाम आयल लिटरमै २५ देखि ३० को फरक परिसकेको छ । अन्तर्राष्ट्रिय बजारमा सोयाबिनको मूल्य प्रतिटन ७ सय ५० डलर हुन्थ्यो । अहिले प्रतिटन ९ सय डलर हाराहारी पुगेको छ । यसमा पनि २० देखि २२ रुपैयाँसम्म लिटरमै फरक परेको छ ।

त्यसै गरी सनफ्लावरको मूल्य धेरै बढेको छ । सनफ्लावर अन्तर्राष्ट्रिय बजारमा प्रतिटन ८ सय ५० डलर पर्थो । अहिले १ हजार १ सय ५० डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा तेल तथा दालको मूल्यमा अस्वाभाविक वृद्धि भएको छ ।

व्यापारीका अनुसार मुसुरो दालको मूल्यमा भने खासै फरक आएको छैन । तर, मास र रहरको दालको मूल्य आकासिएको छ । मासको दाल ८ सय डलरमा प्रतिटन कारोबार हुन्थ्यो । अहिले १ हजार डलर पुगेको छ । रहर यसअघि ६ सय डलरमा पाइँदै थियो । अहिले ८ सय ६० डलर पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung