म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरबाट छिमेकी बागलुङ नगरपालिका–४ कुँडुले जोड्ने झोलुंगे पुल बन्ने भएको छ । रत्नेचौरको बूढोचौर खेल मैदानदेखि ढोडेनी खोलामाथि झोलुंगे पुल बनाउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनको टोलीले मंगलबार अन्तिम सर्भे टुंग्याएको छ ।
डिभिजनले अब टेन्डर खोल्ने तयारी अघि बढाएको छ । म्याग्दीका प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाको पहलमा निर्माण हुन लागेको झोलुंगे पुल ३ सय ८२ मिटर लम्बाइ र १ हजार मिटर उचाइको हुने रत्नेचौरका वडाध्यक्ष टेकबहादुर रावलले बताए । ‘यसै वर्ष धेरै काम सम्पन्न हुन्छ, पुलले पर्यटनको क्षेत्रमा समेत सघाउनेछ,’ उनले भने ।
पुल बनेपछि बागलुङको पञ्चकोट, कुँडुलेमा रहेको शालग्राम संग्रालयको अवलोकन गर्न आउनेहरूबाट रत्नेचौरको खेलमैदान, धौलागिरि क्षेत्रकै सबैभन्दा ठूलो मानवनिर्मित बूढोपोखरीको प्रचारप्रसार हुने वडाध्यक्ष रावलको भनाइ छ । झोलुंगे पुल बनाउन १ करोड ७० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । रत्नेचौरमा क्षेत्रीय स्तरको खेलमैदानसमेत निर्माण भइरहेको छ ।
पुल बनेपछि सडक सञ्जालबाट कुँडुले र रत्नेचौर आवतजावत गर्न एक घण्टा लाग्ने गरेकोमा उक्त दुरी १० मिनेटमा छोटिनेछ । रत्नेचौर, ज्यामरुककोटलगायत आसपास क्षेत्रका बासिन्दाले सदरमुकाम बेनीभन्दा बागलुङमा आर्थिक कारोबारलगायतका गतिविधि बढी गर्ने भएकाले पुलले आवतजावतमा सहज हुने अपेक्षा गरिएको भानु माविका प्रधानाध्यापक भरत खत्रीले बताए ।
उनले पुलमा विद्यालयका शिक्षकले श्रमदानसमेत गरेको बताए । रत्नेचौर हुँदै ज्यामरुककोट जाने सडकको कालोपत्रसहित विभिन्न पूर्वाधारको कामसमेत धमाधम भइरहेको छ ।
तस्वीर : खबरवेबाट
















































































































































































