४ श्रावण २०८३, सोमबार

 

जलविद्युत् आयोजनाको ‘हब’ बन्दै ताराखोला

- थपिँदै चार ठूला आयोजना

बागलुङको ताराखोला गाउँपालिकामा अहिले धमाधम जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । सयपत्री जलविद्युत् आयोजना रहेको ताराखोलामा हालै ताराखोला जलविद्युत् आयोजना (३८० किलोवाट) सम्पन्न भएको छ ।

ठूलो परिमाणमा विद्युत् उत्पादन गर्ने लक्ष्यसहित चार ठूला आयोजना पनि सञ्चालन हुँदै छन् । यिनमा मध्यताराखोला जलविद्युत् आयोजनाको निर्माण सुरु भइसकेको छ ।

पछिल्लो समय ताराखोला जलविद्युत्को हब बन्दै गइरहेको छ । साना लघु जलविद्युत्को भरमा रहेकाले यहाँका अधिकांश भागमा केन्द्रीय विद्युत् पुगेको थिएन । अब केन्द्रीय प्रसारण लाइनमा जोड्ने गरी मध्यतारा जलविद्युत् आयोजना (२.२ मेगावट)को निर्माण चलिरहेको आयोजनाका मेनेजिङ डाइरेक्टर अनिल खड्काले बताए ।

वडा नम्बर ५ करिमेलामा ताराखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएर उत्पादन थालेपछि सोही ठाउँदेखि तल मध्यताराखोला आयोजनाको निर्माण सुरु भएको छ ।

गत वर्ष माघबाट सुरु भएको आयोजनाको निर्माण कोरोनाका कारण बीचमा रोकिएको थियो । अहिले दसैंतिहारको बीचमा समेत आयोजनामा २५ जना कामदारले निरन्तर काम गर्दै आएको खड्काको भनाइ छ । आयोजनाको हालसम्म ४० प्रतिशत काम सम्पन्न भइसकेको जनाउँदै उनले यही वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको बताए ।

उक्त आयोजनाले ताराखोला, छेल्लर र नागवेली खोलालाई एउटै ड्याममा मिसाई पानी १२६ मिटर तल खसालेर विद्युत् उत्पादन गर्नेछ । आयोजनाको कुल लागत रु ४६ करोड छ । आयोजनामा प्रभु बैंकसहित अन्य १० जनाले लगानी गरिरहेका छन् ।

‘मध्यताराखोला जलविद्युत् आयोजनाले गति लिएको छ भने ताराखोला हुँदै गलकोटसम्म अन्य तीन आयोजनाको कामसमेत अगाडि बढेको छ,’ खड्काले भने, ‘हामी एउटै ड्याममा दुई आयोजना जोडेर निर्माण गर्ने गरी अगाडि बढ्दै आएका छौं । ’

स्थानीय प्रयोजनका लागि निर्माण गरिएको ताराखोला जलविद्युत् आयोजनाले उत्पादन गरेको विद्युत् खपत नभएपछि केन्द्रीय प्रसारण लाइनमा समेत जोड्न थालिएको छ ।

अहिले मध्यताराखोलाको पाइपलाइन निर्माण भइरहेको स्थानीय लगानीकर्ता धनबहादुर विकले जानकारी दिए । एउटा जलविद्युत् आयोजनामा विद्युत् उत्पादन गरी निस्केको पानीलाई सोझै अर्को विद्युत् गृहमा हाल्ने (क्यासकेट प्रोजेक्ट) अन्तर्गत चारै आयोजना निर्माण गरिनेछ ।

आयोजना जोडेर निर्माण गर्दा सुरुको आयोजनामा मात्रै ड्याम निर्माण गर्नुपर्ने भएकाले लागत घटेर जानेछ । आयोजनामा उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनअन्तर्गत हरिचौर सबस्टेसनमा जोडिनेछ ।

मध्यताराखोला आयोजनामा विद्युत् उत्पादन भएर आएको पानीमा तल्लो ताराखोला जलविद्युत् आयोजना (३.५ मेगावाट) निर्माण गर्न प्रक्रिया सुरु भएको छ ।

यस्तै यही आयोजनाका लगानीकर्ताले मध्यदरमखोला ‘ए’ जलविद्युत् आयोजना र मध्यदरमखोला जलविद्युत् आयोजना ‘बी’ समेत निर्माण गर्नेछ ।

मध्यदरमखोलासहित एउटै ड्यामबाट दुई आयोजना निर्माण हुनेछन् । यिनमा मध्यदरम ‘ए’ ३ मेगावाट र मध्यदरम ‘बी’ ४.५ मेगावाट क्षमताका हुनेछन् । ताराखोलामा जलविद्युत् आयोजना निर्माणले गति लिएपछि स्थानीयको समेत लगानी हुने भएकाले आर्थिक समृद्धि हुने ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung