२ जेष्ठ २०८१, बुधबार

 

५५ वर्षीया कमला ह्यारिस अमेरिकाकी पहिलो महिला उपराष्ट्रपति

अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक््रयाटिक पार्टीका उम्मेदवार जो बाइडनको जितसँगै उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिस पनि विजयी हुन पुगेकी छन् ।

कमला उक्त पदका लागि चुनाव लड्ने पहिलो अश्वेत र एसियन अमेरिकन हुन् । इन्डियन–जमैकन मूलकी क्यालिफोर्नियाकी सांसद उनले कुनै बेला राष्ट्रपति उम्मेदवारका लागि बाइडनलाई चुनौती दिएकी थिइन् ।

राष्ट्रपतिको उम्मेदवार बन्ने दौडबाट पछि हटेपछि पनि सधैँ उनको नाम चर्चामा रहिरह्यो । क्यालिफोर्नियामा महान्यायाधिवक्ता भइसकेकी उनले देशव्यापी रूपमा भएको रंगभेदविरुद्धको प्रदर्शनका बीच प्रहरीमा सुधारको आह्वान गरिरहेकी थिइन् ।

उनी अमेरिकामा पहिलो पटक महिला उपराष्ट्रपति निर्वाचित भएकी छन् । कमला ह्यारिसको बहुजातीय पहिचानले गर्दा यसपटक केही अरू कुराहरू पनि पहिलोपटक नै भएको हुनेछ ।

अमेरिकामा हालसम्म अन्य दुई जना महिला मात्र उपराष्ट्रपतिका लागि उम्मेदवार बनेका छन्– सन् २००८ मा रिपब्लिकन पार्टीका तर्फबाट साराह पालिन र सन् १९८४ मा डेमोक््रयाटिकका तर्फबाट जेरल्डिन फरारो ।

हालसम्म अमेरिकामा अश्वेत महिलाले राष्ट्रपति उम्मेदवारको टिकट पाएका थिएनन् । बाइडनले कमला ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदवार चयन गरेको बताउँदा आफूलाई गर्व लागेको ट्विटरमा लेखेका थिए । उनले कमलालाई ‘बहादुर योद्धा र अमेरिकाकी सबैभन्दा उत्तम जनसेवकमध्ये एक’ भनेका थिए ।

बाइडनले उनी क्यालिफोर्नियाको महान्यायाधिवक्ता हुँदा आफ्नो दिवंगत छोरासँग कसरी काम गरेकी थिइन् भनेर स्मरण पनि गरेका थिए ।
५५ वर्षीया कमला डिसेम्बरमा राष्ट्रपति उम्मेदवारको दौडबाट बाहिरिएकी थिइन् ।

उनी क्यालिफोर्नियाको ओक्लान्डमा जन्मिएकी हुन् । उनकी आमा भारतमा जन्मिएकी थिइन् भने पिता जमैकामा । उनले अश्वेत विश्वविद्यालय र कलेज भनेर ऐतिहासिक रूपमा चिनिएको हावर्ड विश्वविद्यालयमा अध्ययन गरेकी हुन् । कमलाले आफ्नो पहिचानलाई लिएर सधैँ आफू सन्तुष्ट रहेको बताउने गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्