
केही समयअगाडिसम्म कोरोनाको रिपोर्टमा पोजिटिभ हो वा नेगेटिभ भन्ने मात्र उल्लेख हुन्थ्यो । अहिले भने रिपोर्ट दिँदा त्यसमा कोरोनाको जिनको ‘सिटी भ्यालु’ समेत समावेश गर्न थालिएको छ ।
त्यसैले अहिले धेरैको जिज्ञासा नै ‘सिटी भ्यालु’ के हो भन्नेमा छ । सिटी अथवा ‘साइकल थ्रेसहोल्ड’ को भ्यालु (अंक) चिकित्सकका लागि महत्त्वपूर्ण हुन्छ । यसबाट बिरामीमा भाइरसको भार, संक्रमणको गम्भीरता र संक्रमण फैलाउन सक्ने क्षमता अनुमान गर्न सकिन्छ ।
सामान्यतया सिटी भ्यालुको अंक ३७ पछि कोरोना नेगेटिभ भएको मान्ने गरिन्छ । सिटी भ्यालु जति कम भयो त्यति नै भाइरसको भार बढी, संक्रमणको लक्षण गम्भीर र बढी संक्रामक हुन सक्ने अनुमान गरिन्छ । तर सिटी भ्यालुको अंक जति बढी भयो त्यति नै भाइरसको भार कम, लक्षण र संक्रामक कम हुने अनुमान गरिन्छ ।
अस्पतालमा भर्ना भएकाहरूको ‘सिटी भ्यालु’ पनि सुरुमा कम देखिने र उपचार गर्दै जाँदा बढ्दै गएर कोरोना नेगेटिभ आएको देखिन्छ । होम आइसोलेसनमा रहेकाहरूले १४ दिन वा तेस्रो सातापछि पिसिआर परीक्षण गर्दा सिटी भ्यालु पहिले गरेको परीक्षणमा भन्दा बढेर नेगेटिभ आएको पाइन्छ ।
तर कतिपय व्यक्तिमा सुरुमा सिटी भ्यालु बढी देखिने र १० वा १४ दिनपछि पुनः परीक्षण गर्दा सिटी भ्यालु बढेको पनि देखिन्छ । जसले गर्दा भाइरसको संख्या घट्दै जानुपर्नेमा किन बढ्दै गएको भन्ने जिज्ञासा हुन सक्छ ।
कहिलेकाहीँ भाइरस संक्रमणको सुरुआती समयमा पूर्ण रूपमा फैलिनसकेको हुन सक्छ । जसले गर्दा सिटी भ्यालु बढी देखिने गर्छ । तर पछि भाइरस तीव्र गतिमा फैलिँदा सिटी भ्यालु पहिलेको भन्दा कम देखिन सक्छ ।
तर त्यस्ता भाइरस निष्क्रिय भएको हुन सक्छ । पीसीआरले भाइरस सक्रिय वा निष्क्रिय भएको दुवै अवस्थामा पनि देखाउने गर्छ । जसले गर्दा कुनै व्यक्तिको शरीरमा हप्तौंसम्म निष्क्रिय भाइरसका अंशहरू बाँकी रहँदा पनि पीसीआरले पटकपटक पोजिटिभ देखाइरहन सक्छ ।
अनुसन्धानले सिटी भ्यालु २५ भन्दामाथि भए उक्त संक्रमितबाट भाइरस सर्ने सम्भावना अत्यधिक कम हुने अर्थात् सक्रिय भाइरसको संख्या कम हुने देखाएको छ ।
सयभन्दा बढी अध्ययन–अनुसन्धानका आधारमा संक्रमण भएको १० दिन र सिटी भ्यालु ३० भन्दा बढी भए संक्रमितबाट कोरोना सर्दैन भन्ने प्रस्ताव गरिएको थियो ।
अर्थात् त्यस्ता व्यक्ति आइसोलेसनमा बसिरहन पर्दैन भन्ने हो । सिटी भ्यालुको सम्बन्ध संक्रमणको गम्भीरतासँग सधैं सबैमा लागू नहुन पनि सक्छ । कतिपयमा सिटी भ्यालु कम भएका संक्रमितहरू लक्षणविहीन वा सामान्य लक्षण रहेको पनि देखिएको छ ।
आइसोलेसनमा रहँदा त्यस्ता संक्रमितलाई स्वास्थ्यकर्मीको सहयोग आवश्यकता नपरेको पनि देखिएको छ । केही अनुसन्धानकर्ताहरूले सिटी भ्यालुको आधारमा मात्र यकिन अवस्था अनुमान गर्न नसकिने र कहिलेकाहीँ एउटै व्यक्तिको नमुना फरक(फरक ठाउँबाट लिएर परीक्षण गर्दा सिटी भ्यालु फरक देखाउने जनाएका छन् ।
त्यसैले सिटी भ्यालुको विश्लेषण गर्दा चिकित्सकहरूको परामर्श लिनु राम्रो हुन्छ । सिटी भ्यालु संक्रमणको महामारी आक्रामक वा मत्थर हुँदै गइरहेको छ भनेर अनुमान गर्न सहयोगी हुन सक्ने भनिएको छ ।
जस्तै– कुनै क्षेत्रका धेरै मानिस को परीक्षण गर्दा सिटी भ्यालु कम देखिए त्यस क्षेत्रमा संक्रमण अझै फैलिँदै गएको अनुमान गर्न सकिन्छ । तर सिटी भ्यालु बढी देखिए त्यस क्षेत्रमा संक्रमण मत्थर हुँदै गइरहेको भने बुझ्न सकिन्छ ।
पछिल्लो समय काठमाडौंमा परीक्षण गरिएकाहरूमा सिटी भ्यालु उच्च देखिन थालेको छ जसले गर्दा संक्रमण मत्थर हुँदै गइरहेको भन्ने संकेत गर्छ ।
सेतोपाटीबाट