नेपाल आयल निगमले नेपालकै दोस्रो ठूलो पेट्रोलियम भण्डारण गृहको निर्माण सुरु गरेको छ । निगमले बिहीबारदेखि पोखरा महानगरपालिका–२९ र ३० स्थित गगनगौंडामा रहेको डिपोको भण्डारण क्षमता बढाउन थालेको हो ।
क्षमता विस्तारपछि उक्त डिपो गण्डकी प्रदेशमा पेट्रोलियम पदार्थको विक्री–वितरण सुदृढ बनाउन कोसेढुंगा साबित हुने निगमको दाबी छ । निगमले सबै प्रदेशमा ९० दिनका लागि पुग्ने इन्धन भण्डारण गृह निर्माणको नीतिअनुसार काम अघि बढाएको हो । २०५८ सालपछि निगमको आफ्नै लगानीमा पहिलो कामका रूपमा यो योजना अघि बढेको बताइएको छ ।
गण्डकीमा प्रत्येक वर्ष पेट्रोलियम पदार्थको खपत बढिरहेको छ । हरेक दिन चार लाख ६७ हजार लिटर पेट्रोलियम पदार्थको खपत हुँदै आएको छ ।
एकै दिनमा गण्डकीमा ३ लाख २५ हजार लिटर डिजेल र १ लाख ४२ हजार लिटर पेट्रोल बिक्रीवितरण हुने गरेको छ । यो डिपोमा हाल २२ लाख ८० हजार लिटर डिजेल र ३ लाख ५० हजार लिटर पेट्रोल भण्डारण क्षमता छ ।
दैनिक खपत र भण्डारणको अहिलेको अवस्थाअनुसार पेट्रोलियम पदार्थ आपूर्तिमा अवरोध हुँदा डिजेलको माग सात दिन र पेट्रोल दुई दिन मात्रै धान्न सकिने निगमको भनाइ छ । आज शिलान्यास भएको भण्डारण परियोजना सञ्चालन भएसँगै डिजेलको ३० दिन र पेट्रोलको १२ दिनसम्म माग धान्न सकिनेछ ।
एसियाली विकास बैंकको सहयोगमा २०५८ मा डिपो बनेयता बल्ल यसको क्षमता विस्तार सुरु गरिएको हो । अमलेखगन्जपछिको नेपालकै सबैभन्दा दोस्रो ठूलो भण्डारण गृह बन्ने निगमले जनाएको छ ।
चितवनको लोथरमा बन्ने ठूलो ब्लक भण्डारण गृहको सप्लाई चेनका रूपमा निगमले गगनगौंडा डिपोलाई लिएको छ । यो ७७ रोपनी जग्गामा बन्न लागेको हो । यसको प्राविधिक अध्ययन इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा, पुल्चोकले गरेको हो । यसको निर्माण लागत खर्च ७७ करोड रुपैयाँ र निर्माण अवधि २ वर्ष तोकिएको छ । यसको ठेक्का समानान्तर रेलिगेयर भारत ट्यांक्सले पाएको छ ।













































































































































































































