७ जेष्ठ २०८१, सोमबार

 

चालू वर्षको तेस्रो त्रैमासिकमा १४ प्रतिशतले बढ्यो गुगलको आम्दानी, गुगलको आयमा १४ प्रतिशतले बढोत्तरी

कोभिड–१९ महामारी, कम्पनीको इतिहासमै सबैभन्दा ठूलो मुद्दा खेप्नुपरेको अवस्था र सेन्सरसिपको आरोप । यी सबका बावजुद गुगलको आम्दानी झन् बढिरहेको छ ।

अमेरिकी कम्पनी गुगलको मातृ कम्पनी अल्फाबेटले सन् २०२० को तेस्रो त्रैमासिकमा ४६ अर्ब १७ करोड अमेरिकी डलर आम्दानी गरेको छ । जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा गुगलले आफ्नो आम्दानीमा महत्त्वपूर्ण वृद्धि कायम गर्न सफल भएको छ । गत वर्षको सोही अवधिमा भन्दा यसपटक गुगलको आयमा १४ प्रतिशतले बढोत्तरी भएको छ ।

साथै गुगलले यो अवधिमा ११ अर्ब २० करोड डलर खुद आर्जन गर्न सफल भएको छ । गुगल तथा अल्फाबेटका सीईओ सुन्दर पिचाईले एक वक्तव्यमा गत त्रैमासिक कम्पनीका लागि निकै सबल रहेको भन्दै यो सफलता आर्टिफिसियल इन्टेलिजेन्स र अन्य प्रविधिमा गरिएको गहन लगानीको परिणाम भएको बताएका छन् ।

गुगलले सार्वजनिक गरेको त्रैमासिक रिपोर्टले त्यसअघिको कम्पनीको निराशाजनक त्रैमासिकलाई समेत बिर्साएको छ । सन् २०२० को दोस्रो त्रैमासिकमा गुगलको विज्ञापन आयमा पहिलोपटक गिरावट आएको थियो ।

जबकि तेस्रो त्रैमासिकमा गुगलको विज्ञापन आयमा अघिल्लो वर्षको सोही त्रैमासिकको अवधिमा १० प्रतिशतले वृद्धि भएको छ । जसमा गुगल सर्च विज्ञापन आयमा ६.५ प्रतिशत र युट्युब विज्ञापन आयमा ३२ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्