६ जेष्ठ २०८१, आईतवार

 

राजा महेन्द्रका विश्वासिला सहयोगी दमनराज तुलाधरको आत्मकथा सार्वजनिक

जहानियाँ राणाशासनविरुद्धका योद्धा तथा पञ्चायतको पहिलो दशकमा राजा महेन्द्रका विश्वासिला सहयोगी दमनराज तुलाधरको आत्मकथा ‘दमनराज तुलाधर’ पुनः प्रकाशित भएको छ ।

‘नेपाली माटो चिनेको नमुना आत्मकथा’को उपमा पाएको यो आत्मवृत्तान्तलाई इमानदार बयानको अनुपम उदाहरणका रूपमा लिइन्छ ।२०३९ सालमा प्रकाशित यो पुस्तक इमानदार अभिव्यक्तिकै कारण प्रतिबन्ध लगाइएपछि दुर्लभ हुन पुगेको थियो ।

‘सचेत नेपाली पाठक यत्तिको महत्त्वपूर्ण ऐतिहासिक दस्तावेजबाट वञ्चित हुनु नपरोस् भनी बुक हिल पब्लिकेसनले क्लासिक सिरिज अन्तर्गत यसको दोस्रो

संस्करण प्रकाशन गरेको हो,’ प्रकाशक भूपेन्द्र खड्काले भने, ‘तुलाधरकी सुपुत्री प्रतिमा तुलाधरको भूमिका यो संस्करणको अर्को उल्लेखनीय विशेषता हो ।’

१९९७ सालको प्रजापरिषद् काण्डदेखि सात सालसम्म नेपाली माटोमा भएको प्रजातान्त्रिक संघर्ष, प्रजातन्त्र स्थापनापछि नेपाली राज्यको सत्ता–अभ्यास र पञ्चायत कालमा नेपाली परराष्ट्र नीति निर्माण एवं कार्यान्वयनका भित्री कथा यस पुस्तकमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्