५ जेष्ठ २०८१, शनिबार

 

मातृकाप्रसाद कोइरालाको ‘कोशीको कथा’ पुनः प्रकाशित

पब्लिकेसन्स नेपालयले आफ्नो क्लासिक्स शृंखलाअन्तर्गत मातृकाप्रसाद कोइरालाको निबन्ध संग्रह ‘कोशीको कथा’ पुनः प्रकाशित गरेको छ ।प्रतिभा पुरस्कार प्रतिष्ठान, विराटनगरले २०४६ सालमा प्रथमपटक प्रकाशित गरेको यो पुस्तक लामो समयदेखि बजारमा उपलब्ध थिएन ।

यस संग्रहका नौवटा निबन्ध छन् ।सात सालका क्रान्तिताका नेपाली कांग्रेसका ‘सुप्रिम कमान्डर’ तथा क्रान्तिपछिको गैरराणा सरकारको पहिलो प्रधानमन्त्री कोइराला त्यसभन्दा अगाडिदेखि नै साहित्यकारका रूपमा परिचित थिए ।

यो पुस्तक कोशी नदीवरिपरिका विषयवस्तु र जातिउपर लेखिएका निबन्ध तथा प्रबन्धहरूको संगालो हो । प्रकाशक नेपालयका अनुसार कतै अन्वेषणात्मक त कतै निजात्मक शैलीमा लेखिएका यी निबन्धले पुराण, विज्ञान, सामाजिक न्याय, राजनीतिदेखि लिएर २०११ सालको कोशी–सन्धि प्रकरणसम्मको विषयलाई समेटेका छन् ।

उक्त किताबबारे मातृकाप्रसादका छोरा लेखक कमल कोइराला भन्छन्, ‘यो किताब केही समयदेखि बजारमा उपलब्ध थिएन । केही दशकपछि पुस्तकले पाठकसामु आउने बाटो भेटेकोमा मलाई एकदम खुसी लागेको छ ।’

‘कोशीको कथा’ नेपाली बजारमा २९५ रुपैयाँमा उपलब्ध छ । पुस्तक ई–बुकका रूपमा थुप्रै डटकम र अमेजनमार्फत विश्वभर उपलब्ध हुने नेपालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्