४ जेष्ठ २०८१, शुक्रबार

 

‘बाइडनको जित अमेरिकामा देखिएका विभाजनहरु पुर्ने कामको सुरुवात’ – ओबामा

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले अमेरिकीसामु देशलाई गहिरोसँग विभाजित गर्ने सनकपूर्ण षड्यन्त्र सिद्धान्तहरूलाई उल्टाउनुपर्ने ठूलो जिम्मेवारी रहेको बताएका छन्।

बीबीसीसँगको अन्तर्वार्तामा उनले चार वर्षअघिको तुलनामा अमेरिका अझ गहिरोसँग विभाजित भएको बताए । चार वर्षअघि डोनल्ड ट्रम्प राष्ट्रपति चुनिएका थिए ।

ओबामाले सन् २०२० को अमेरिकी राष्ट्रपति चुनावमा जो बाइडनको विजय त्यस्ताखाले विभाजनहरू पुर्ने सुरुवात मात्र भएको बताए । उनले भने, ‘ती प्रवृत्तिहरूलाई उल्ट्याउन एउटा चुनावभन्दा धेरै समय लाग्नेछ ।’

ध्रुवीकरण भएको राष्ट्रसँग जुझ्न राजनीतिज्ञहरूको निर्णयलाई मात्र छाड्न नसकिने उनको तर्क छ । ओबामाले जो बाइडनसँग अहिलेको अवस्थामा एउटा राष्ट्रपतिसँग हुनुपर्ने सबै गुण भएको बताएका छन् ।

त्यसका लागि संरचनागत परिवर्तन र मानिसहरूले एकअर्कालाई सुन्नुपर्नेमा उनले जोड दिए । यद्यपि उनले आगामी पुस्ताको परिष्कृत सोचमा ठूलो आशा देखेको बताए ।

ओबामाले युवापुस्तालाई विश्वलाई परिवर्तन गर्न सक्ने सावधानीपूर्ण आशावादको सञ्चार गर्न र त्यो परिवर्तनको हिस्सा बन्न पनि आह्वान गरे । उनको नयाँ संस्मरणको प्रवर्धन गर्न बीबीसी आर्ट्सका लागि इतिहासकार डेभिड ओलुसोगाले लिएको अन्तर्वार्तामा ओबामाले अमेरिकामा विभाजन बढ्नुको कारण बताएका छन्।

उनका अनुसार ग्रामीण र सहरी अमेरिकाबीचको आक्रोश र अप्रसन्नता, आप्रवासन, अन्यायजस्तै असमानता र सनकपूर्ण षड्यन्त्र सिद्धान्तहरूजस्ता कुराले विभाजन बढाएको हो ।

उनले यस्ता कुरालाई केही अमेरिकी सञ्चारमाध्यमद्वारा प्रवर्धन गरिएको र सामाजिक सञ्जालद्वारा त्यसमा थप मलजल गर्ने काम भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्