बैंक अफ काठमान्डुको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले बैंकको प्रस्तावित १३ प्रतिशत बोनस सेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।
बोनस सेयरपछिको मूल्य नेप्सेले प्रतिकित्ता २६२ रुपैयाँ तोकेको छ । गत बिहीबार कायम अन्तिम मूल्य २९६ रुपैयाँको आधारमा बैंक अफ काठमान्डुको मूल्य समायोजन गरेको नेप्सेले प्रस्ट पारेको छ ।
बैंकले यस वर्षका लागि १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यो लाभांशसहित विविध प्रस्ताव पारित गर्न मंसिर १५ गते साधारणसभा बोलाइएको छ । उक्त सभा र लाभांश प्रयोजनका लागि कम्पनीले कात्तिक २८ गतेदेखि सभा हुने दिनसम्म ‘बुक क्लोज’ गरेको छ ।
यस आधारमा तिहारपछि बैंकको सेयर खरिद गर्नेहरूले प्रस्तावित लाभांश पाउने छैनन् । कात्तिक २७ गतेसम्म कायम शेयरधनीहरूले मात्र उक्त लाभांश पाउने भएका हुन् ।
सभा बैंकको प्रधान कार्यालय, कमलपोखरी, काठमाडौंमा भिडियो कन्फ्रेन्समार्फत हुनेछ । बैंकको असोज १४ गतेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७६,७७ को सञ्चित मुनाफाबाट १३ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने करसमेत ३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
गत वर्ष बैंकले कुल १७ प्रतिशत लाभांश दिएको थियो । गत वर्ष बैंकले ६ प्रतिशत बोनस सेयर र ११ प्रतिशत करसमेत नगद लाभांश दिएको हो ।
गत वर्षभन्दा १ प्रतिशत लाभांश कम दिएको बैंकले यो वर्ष बोनसमा जोड दिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले १ अर्ब ४७ करोडभन्दा बढी खुद नाफा गरेको थियो ।













































































































































































































