‘म्याउटक’ले बिरालोको आवाजलाई रेकर्ड गर्छ र त्यसको अर्थ थाहा पाउने प्रयत्न गर्छ।बिरालोपालकहरूले अनुवादलाई अङ्कित (लेभलिङ) गर्न सहयोग गर्न सक्छन्।
आर्टफिशल इन्टेलिजन्स (एआई) सफ्टवेअरमा बिरालोको म्याउँका शब्दभण्डार बढाउन उनीहरूले सहयोग गर्न सक्छन्।हाल उक्त एपको शब्दकोषमा १३ वटा वाक्यांश छन्। त्यसमा “मलाई खुवाउनूस्”, “म रिसाएको छु” र “मलाई एक्लै छाडिदिनूस्” जस्ता वाक्यांश छन्।
बिरालोको भाषा
अध्ययनहरूले मानवको जस्तो बिरालाहरूको एउटै साझा भाषा नभएको देखाएका छन्।बिरालाको म्याउँ आफ्नो मालिकअनुसार भिन्न हुन्छ। केही अरूको तुलनामा धेरै नै मुखर हुन्छन्।
त्यसैले बिरालाका लागि एउटै डेटाबेसको साटो उक्त एपको अनुवाद हरेक बिरालो अनुसार फरक हुन्छ।आवाज रेकर्ड गर्ने र त्यसलाई अङ्कित गर्ने गरेपछि एआई र मशीन-लर्निङ सफ्टवेअरले हरेक बिरालोको आवाजलाई राम्ररी बुझ्न सक्छ र जति प्रयोग गर्यो त्यति नै आवाज पहिचान सही हुँदै जान्छ।
प्रविधि
एप विकासकर्ता अक्भेलोन समूहका प्राविधिक कार्यक्रम प्रबन्धक जेभियर सान्चेजले एउटा वेबिनारमा अन्तिम लक्ष्य एउटा स्मार्ट-कलर विकास गर्नु भएको बताए।एपमा प्रविधिले तपाईँको बिरालोको आवाजलाई तुरुन्त अनुवाद गर्छ र मानिसको आवाजमा बोल्छ।

तस्बिरको क्याप्शन,‘म्याउटक’ले बिरालोको म्याउँको आवाजलाई रेकर्ड गर्छ
यो एप गुगल प्ले स्टोर र एपलको एप स्टोर दुवैमा नि:शुल्क उपलब्ध छ।विकासको प्राम्भिक चरणमा रहेकाले उक्त एपबारे प्रयोगकर्ताहरूले मिश्रित प्रतिक्रिया दिएका छन्।कतिपयले एपमा त्रुटि उत्पन्न भएको लेखेका छन्। कतिपयले चाहिँ एप मन परेको लेखेका छन्।
प्रयोगकर्ताहरूले गोपनीयताको प्रश्न पनि उठाएका छन्। उनीहरूले रेकर्ड गरिएको डेटा कसरी प्रयोग हुन्छ र कहाँ राखिन्छ भन्ने चासो व्यक्त गरेका छन्।एपले आफ्नो गोपनीयता नीतिमा अहिले विकासको क्रममा रहेको र गोपनीयतासम्बन्धी युरोपेली सङ्घको सबै नियम मान्ने गरी विकास नहुन्जेल डेटा नियन्त्रण गरिन्छ भन्ने लागेमा एप हटाउन सुझाव दिएको छ।
बिरालाको व्यवहारबारे अध्ययन गरेका विज्ञहरूले उक्त जीवका अधिकांश शब्द मानिससँग सञ्चार गर्न प्रयोग हुने र मालिकहरूले त्यसको जबाफ फर्काउने गरेको बताउँछन्।
यो एप पनि मालिकले कसरी बिरालोको शब्दलाई अङ्कित गर्छन् भन्नेमा भर पर्ने भएकाले सञ्चारमा समस्या हुनसक्ने कतिपय यस्ता विज्ञको मत छ।
“हामी सम्भवत: कहिल्यै पनि बिरालोको म्याउँलाई मानिसका शब्दहरूमा रूपान्तरण गर्न सक्दैनौँ,” बिरालोको आनीबानी विज्ञ तथा ‘लेट्स टक अबाउट क्याट्स’की लेखिका अनिता केल्से भन्छिन्।”यो एप रमाइलोका लागि जस्तो देखिन्छ र तपाईँलाई आफ्नो बिरालोसँग रमाइलो गर्दा कुनै हानि हुनेछैन।”
बीबीसीनेपालीबाट













































































































































































































