७ जेष्ठ २०८१, सोमबार

 

मोबाइलमा लगाइएको अन्तःशुल्क हटाउने तयारीमा अर्थमन्त्री

मोबाइलमा लगाइएको अन्तःशुल्क हटाइने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले कर उठाउने नाममा मोबाइलमा जबरजस्ती अन्तःशुल्क लगाएको भन्दै त्यसलाई हटाउन लागेको हुन् ।

तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले सुरुमा ५ प्रतिशत अन्तःशुल्क लगाएका थिए । पछि उनी आफैले ५ प्रतिशतलाई घटाएर साढे २ प्रतिशतमा झारेका थिए । त्यसलाई पनि हटाउन व्यवसायीले पटक–पटक आह्रवान गरे पनि खतिवडाले मानेका थिएनन् । तर, त्यो साढे २ प्रतिशत अन्तःशुल्क हटाउने तयारीमा अर्थमन्त्री रहेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

व्यवसायीले पनि मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) लागू नहुँदासम्म हाल कायम रहेको साढे २ प्रतिशत अन्तःशुल्क हटाउन र पछि एमडीएमएस लागू भइसकेपछि फेरि लगाए पनि केही असर नपर्ने बताएका छन् ।

मोबाइल व्यवसायी र अर्थमन्त्री पौडेलबीच केही दिनअघि भएको भेटमा उनीहरूले तत्काल साढे २ प्रतिशत अन्तःशुल्क हटाउन माग गरेका थिए । त्यसबेला अर्थमन्त्री पौडेलले यसबारेमा आफूले बुझ्ने र आवश्यक निर्णय लिने बताएका थिए ।

अर्थ मन्त्रालय स्रोतकाअनुसार अर्थमन्त्री पौडेलले हाल कायम रहेका अन्तःशुल्कलाई यही बीचमा हटाउने विषयमा आवश्यक छलफल गरिरहेका छन् ।

सरकारले सीमानामा कडाइ गरेको र त्यहाँबाट हुने चोरी पैठारी केही हदसम्म कम भएकाले मोबाइलको व्यापार र राजस्व संकलन राम्रो देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्