४ जेष्ठ २०८१, शुक्रबार

 

महासंघ निर्वाचन भोलि, देशभरबाट ११ सय १६ प्रतिनिधि राजधानी आइपुगे

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा मतदान गर्न देशभरबाट प्रतिनिधिहरू काठमाडौं आइपुगेका छन् । महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको सूचीअनुसार एसोसिएट्स, द्विराष्ट्रिय, वस्तुगत र जिल्ला–नगरका गरी १ हजार १ सय १६ संस्थाका प्रतिनिधि काठमाडौं आएका हुन् ।

निर्वाचनमा एसोसिएट्सतर्फ ९ सय ४, द्विराष्ट्रियतर्फ ६, वस्तुगत संघका १ सय १ र जिल्ला–नगर संघका १ सय ५ जनाले मतदान गर्दै छन् ।

महासंघको ५४औं वार्षिक साधारणसभाले वरिष्ठ उपाध्यक्षसहित नयाँ कार्यकारी समिति चयन गर्दै छ । वरिष्ठ उपाध्यक्षका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् ।

ढकाल टिमबाट जिल्ला–नगर उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगततर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई उम्मेदवार छन् ।

यसै गरी प्रधान टिमबाट जिल्ला–नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ र एसोसिएटतर्फ सौरभ ज्योति उठेका छन् । हिजोदेखि सुरु भएको महासंघको साधारणसभाअन्तर्गत भोलि शनिबार मतदान हुँदै छ ।

महासंघले तीन फरक–फरक ठाउँमा मतदानको व्यवस्था गरेको छ । जिल्ला तथा नगर, एसोसिएट र वस्तुगततर्फको मतदान कमलादीस्थित प्रज्ञा प्रतिष्ठान, टेकुस्थित महासंघ सचिवालय र बबरमहलस्थित कार्की ब्यांक्वेटमा हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्