६ जेष्ठ २०८१, आईतवार

 

आइफोनको सेवा सुस्त पारेको विवाद टुंग्याउन ११ करोड ३० लाख अमेरिकी डलर खर्चंदै एप्पल

पुराना आइफोन ढिलो बनाइदिएको आरोप खेपेको एप्पल कम्पनीले उक्त विवाद टुग्याउन ११ करोड ३० लाख अमेरिकी डलर तिर्ने भएको छ ।

अमेरिकाका ३३ राज्यले प्रयोगकर्ताहरूलाई नयाँ आइफोन किन्न बाध्य पार्न एप्पल कम्पनीले पुराना साधन सुस्त बनाइदिएको दाबी गरेका थिए ।

सन् २०१६ मा लाखौँ प्रयोगकर्ताले आइफोन सिक्स, सेभन र एसईमा समस्या खेपेका थिए । त्यसलाई ‘ब्याट्रीगेट’ को संज्ञा दिइएको थियो ।

एप्पलले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ । यसअघि उसले पुरानो ब्याट्रीको आयु बढाउन फोन ढिलो पारिएको तर्क गरेको थियो ।

यसअघि गत मार्च महिनामा उसले एउटा छुट्टै मुद्दामा प्रभावित प्रयोगकर्ताहरूलाई ५० करोड डलरसम्म तिर्न सहमति गरेको थियो । सन् २०१६ मा एप्पलले आइफोन सिक्स, सेभन र एसई मोडलका सफ्टवेयर अद्यावधिक गरेको थियो । त्यसो गर्दा पुराना फोनहरूमा चिपको गति सुस्त भएको थियो ।

अनुसन्धाताहरूले सन् २०१७ मा अस्वाभाविक रूपमा आइफोनको गति घटेको पत्ता लगाएपछि एप्पलले सफ्टवेयर अद्यावधिक गर्दा त्यसो भएको स्वीकार गरेको थियो ।

विभिन्न अमेरिकी राज्यहरूले एप्पल कम्पनीले छलपूर्वक व्यवहार गरेको दाबी गर्दै उसले बरु ब्याट्र फेर्नुपर्ने वा समस्याबारे स्पष्ट रूपमा जानकारी दिनुपर्ने तर्क गरेका थिए ।

एरिजोना राज्यमा संकलित विवरणअनुसार दसौँ लाख आइफोन प्रयोगकर्ताहरू उक्त समस्याबाट प्रभावित भएका थिए । एप्पलले आर्थिक लाभका लागि फोन ढिलो पारिएको भन्ने आरोप खण्डन गर्ने गरेको छ । एरिजोनाको अदालतमा पेस गरिएको एउटा दस्तावेज बुधबार सार्वजनिक गरिएको छ ।

त्यसमा उक्त राज्यका महाधिवक्ताले लेखेका छन्, ‘धेरै उपभोक्ताले उपयोगी केवल एउटा उपाय एप्पलबाट नयाँ मोडलको आइफोन किन्नु हो भन्ने निधो गरे ।

एप्पललाई अवश्य पनि विक्रीवितरणमा त्यसको प्रभाव पर्छ भन्ने थाहा थियो । ’ सम्झौतामा एप्पलले आफूले कुनै अनुचित काम गरेको वा कानुन उल्लंघन गरेको स्वीकार गरेको छैन ।

उक्त विशाल प्रविधि कम्पनीले आईफोन पावर व्यवस्थापनबारे आगामी तीन वर्ष आफ्नो वेबसाइट, सफ्टवेयर अपडेट टिपोट र आइफोन सेटिङ्समा ‘सत्य सूचना’ दिने सहमति गरेको छ ।

विभिन्न आरोपको शृंखलापछि एप्पलले अहिले यस्तो सम्झौता गरेको हो । एप स्टोरमा आफ्नो प्रभुत्व भएकाले आईफोन निर्माता उक्त कम्पनीले विकासकर्ताहरूबाट अनुचित रूपमा पैसा लिने गरेको आरोप पनि लागेको छ । यसै विषयमा एपिक गेम्सले एप्पलविरुद्ध एउटा मुद्दा हालेको छ ।

प्रतिक्रिया दिनुहोस्