७ जेष्ठ २०८१, सोमबार

 

१५ वर्षीया वैज्ञानिक गीताञ्जली बनिन् टाइम म्यागजिनकी ‘किड अफ इयर’

अमेरिकाकी १५ वर्षीया वैज्ञानिक र आविष्कारिक टाइम म्यागजिनकै पहिलो ‘किड अफ द इयर’ बनेकी छन् । कोलोराडो राज्यको डेनभरकी १५ वर्षीया गीताञ्जली रावलाई टाइम म्यागजिनले यसै वर्ष सुरु भएको ‘किड अफ द इयर’ बनाएको हो ।

गीताञ्जलीले पिउने पानीमा भएको रासायनिक तत्त्व ‘लिड’ पत्ता लगाउने डिभाइस बनाएकी थिइन् । त्यस्तै उनले एप तथा साइबर बुलिङ अर्थात् अनलाइनमा हुने दुव्र्यवहार पत्ता लगाउने सफ्टवेयरसमेत बनाएकी छन् ।

यस क्षेत्रका मनोनीत ५ हजारमध्ये उनी अन्तिम पाँचमा पुगेकी थिइन् । हास्य कलाकार तथा टेलिभिजन प्रस्तोता ट्रेभर नोआ रहेको कमिटीले अन्तिम पाँच जनाबाट गीताञ्जलीलाई ‘किड अफ द इयर’ छानेको हो ।

सो कार्यक्रममा गीताञ्जलीसहित अन्तिम पाँचमा पुगेका सबै जनालाई अर्को शुक्रबार सम्मानित गरिने जनाइएको छ । ‘म अरू वैज्ञानिकजस्तो देखिन्नँ ।

टिभीमा देखिने वैज्ञानिक बुढा र गोरा मान्छे हुन्छन्,’ हलिउडकी नायिका एन्जिलिना जोलीसँगको अन्तर्वार्तामा गीताञ्जलीले भनेकी थिइन्, ‘मेरो उद्देश्य आफूले बनाएका डिभाइसबाट विश्वका समस्याको समाधान गर्ने मात्रै होइन, अरूलाई पनि त्यसै गरी काम गर्ने प्रेरणा दिनु हो ।’

टाइम्स म्यागजिनले सन् १९२७ देखि ‘म्यान अफ द इयर’ घोषणा गर्दै आएको छ । पछि त्यसलाई ‘पर्सन अफ द इयर’मा परिवर्तन गरिएको थियो ।

गत वर्ष जलवायु अभियन्ता ग्रेटा थुनबर्ग सबैभन्दा कम उमेरमा ‘पर्सन अफ द इयर’ बनेकी थिइन् । त्यति बेला उनी १६ वर्षकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्