६ जेष्ठ २०८१, आईतवार

 

फाइभजी सेवाका लागि फ्रिक्वेन्सी निर्धारण गर्दै प्राधिकरण

नेपालमा फाइभजी सेवा सञ्चालन गर्ने आधार तयार पार्नका लागि उपयुक्त फ्रिक्वेन्सी निर्धारण गर्न लागिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री संयोजक रहने राष्ट्रिय फ्रिक्वेन्सी नीति निर्धारण समितिबाट ब्यान्ड अनि मूल्य तोकिएपछि उक्त प्रविधिको विस्तारका विषयमा काम अघि बढ्ने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए ।

उपयुक्त मूल्य र ब्यान्डको सिफारिस भने प्राधिकरणले गर्नेछ जसका आधारमा समिति टुंगोमा पुग्ने बताइएको छ । नेपालमा प्रविधि तटस्थताको नीति आइसकेको अवस्थामा ७००, ८००, ९००, १८००, २३००, २६०० र ३५०० ब्यान्डमै फाइभजी परीक्षण गर्ने गरी अघि बढेको बताइएको छ ।

‘परीक्षणका लागि हामीले सरकारसँग अनुमति माग्दै छौँ । त्यस अवधिमा जसले परीक्षण गर्छ, उसलाई पनि शुल्क नलगाउने र परीक्षणका लागि अनुमतिप्राप्त प्रदायकले पनि ग्राहकबाट फाइभजी सेवा उपभोग गरेबापत थप शुल्क नउठाउने गरी कार्य अघि बढाउनेछौँ,’ खनालले भने ।

प्राधिकरणका अनुसार जुन प्रदायकले जुनजुन ब्यान्ड प्रयोग गरिरहेका छन् त्यसमा उनीहरूले परीक्षण गर्न पाउने छन् । ‘प्रविधि तटस्थताका कारण ८००, ९००, १८०० र २१०० ब्यान्डमा स्पेक्ट्रम लिएको नेपाल टेलिकमले जुनसुकै ब्यान्डमा फाइभजी प्रयोगमा ल्याउन सक्छ । कुन ब्यान्डमा सञ्चालन गर्दा ‘इन्टरकनेक्सन’ र विभिन्न उपकरणमा सहज रूपमा प्रविधि प्रयोग गर्न सकिन्छ भन्ने मात्रै प्रश्न हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्