२३ बैशाख २०८१, आईतवार

 

सुर्खेत विमानस्थल फराकिलो पार्ने तयारी

कर्णाली प्रदेशको एक मात्र सुर्खेत विमानस्थल साँघुरो भएकै कारण मुस्किलले ४८ सिटेबाहेक ठूला जहाज उडान र अवतरण गर्न सकिरहेका छैनन् ।

सोही अनुरूप प्रदेश सरकार र संघीय सरकारबीच गत असोज १५ गते विमानस्थल विस्तार र स्तरोन्नतिका लागि भएको सम्झौताअनुसार करिब तीन सय मिटर धावनमार्ग विस्तार गर्न जग्गा अधिग्रहण गर्न स्वीकृति दिइएको छ ।

‘नेपाल सरकार र प्रदेश सरकारबीच भएको एमओईअनुसार जग्गा अधिग्रहणका लागि अनुमति पाएको भन्ने खबर छ,’ आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव घनश्याम उपाध्यायले भने, ‘अहिलेको विमानस्थलको उत्तर, दक्षिण, पूर्व, पश्चिम के–कति जग्गा अधिग्रहण गर्ने, त्यो प्राविधिक टोलीले विस्तृत अध्ययन गरेर टुंगो लगाउला ।’

२०२३ सालमा स्थापित सुर्खेत विमानस्थलको लम्बाई १ हजार मिटरको थियो भने ६ वर्षअघि मात्रै २ सय ५५ मिटर विस्तार गरी १ हजार २ सय ५५ मिटर पु¥याइएको छ । संघीय र प्रदेश सरकारबीच भएको सहमतिअनुसार विमानस्थल विस्तार भए दोस्रो पटक हुनेछ ।

दोस्रोपटक विस्तारका लागि निश्चितजस्तै भइसकेको छ । मुआब्जा वितरणका लागि प्रदेश र संघीय सरकारले ५०/५० प्रतिशत खर्चिनेछन् । आवश्यक बजेट दुवै तहका सरकारले थप गर्नेछन् ।

धावनमार्गको उत्तरतर्फ विस्तारका लागि लम्बाइ ४ सय ६० मिटर, दक्षिणतर्फ करिब २ सय मिटर र चौडाइतर्फ १ सय ६० मिटर क्षेत्र गरी करिब ३० बिघा जग्गा अधिग्रहण गर्न सकिने प्रारम्भिक निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्