७ जेष्ठ २०८१, सोमबार

 

फेसबुकले एकाधिकार दुरुपयोग गरेको भन्दै मुद्दा

फेसबुकले गैरकानुनी तरिकाले आफ्ना प्रतिस्पर्धीलाई किनेर अस्वस्थ प्रतिस्पर्धा गरेको भन्दै अमेरिकाका संघीय नियामक र ४५ भन्दा धेरै राज्यका अभियोजनकर्ताले मुद्दा दर्ता गरेका छन् ।

अधिकारीहरूले अदालतलाई उक्त कम्पनीलाई टुक्याउने विषयमा सोच्न भनेका छन् । अर्बौं प्रयोगकर्ता रहेका इन्स्टाग्राम र ह्वाट्सएपमा समेत फेसबुककै लगानी छ । न्युयोर्ककी महान्यायाधिवक्ताले उक्त कम्पनीले एक दशकसम्म प्रतिस्पर्धीलाई चुप लगाउन प्रयोगकर्ताहरूको मूल्यमा आफ्नो एकाधिकारको दुरुपयोग गरेको बताएकी छन् ।

अधिकारीहरूले फेसबुकले खास गरी साना र सम्भावित प्रतिस्पर्धी कम्पनीहरूलाई ‘किन्ने वा सिध्याउने’ शैली लिएको आरोप लगाएका छन् । फेसबुकले सन् २०१२ मा इन्स्टाग्राम र सन् २०१४ मा ह्वाट्सएप किनेको थियो । फेसबुकले ती कम्पनी त्यस बेला निकै साना रहेको बताएको छ ।

अधिकारीहरूले इन्स्टाग्राम र ह्वाट्सएपबाट लगानी झिक्न लगाएर फेसबुकको आकार सीमित गरिनुपर्ने माग गरेका छन् । फेसबुकले अहिले अनुसन्धान गर्न खोजिएका सम्झौता नियामकहरूले वर्षौंअघि स्वीकृत गरिसकेको जनाएको छ ।

फेसबुककी वरिष्ठ कानुनी सल्लाहकार जेनिफर न्युजस्टिडले भनेकी छन्, ‘सरकारले फेरि उही कुरा दोहो¥याउन चाहेको छ । त्यसले अमेरिकी व्यावसायलाई कुनै पनि विक्री अन्तिम होइन भन्ने डरलाग्दो चेतावनी दिएको छ ।’
‘फेसबुकले इन्स्टाग्राम र ह्वाट्सएपलाई सफल बनाउन करोडौँ खर्च गरेको बताउँदै जोडदार ढंगले प्रतिरक्षा गर्ने जनाएको छ । उक्त मुद्दामा फेसबुकका प्रमुख मार्क जकरबर्गले पठाएका आन्तरिक सन्देशलाई समेत उद्धृत गरिएको छ ।

जसमा सन् २००८ को एउटा इमेलमा उनले ‘प्रतिस्पर्धा गर्नुभन्दा किन्नु राम्रो’ लेखेका थिए । बीबीसीका उत्तर अमेरिका प्रविधि संवाददाता जेम्स क्ल्याटन भन्छन्, ‘फेसबुकसँग अपिल गर्न पर्याप्त अवसर हुनेछन् । त्यसैले तत्कालै फेसबुक टुक्रिहाल्ला भन्ने नसोच्दा हुन्छ । तर अदालत र नेताहरू कुन दिशातर्फ गइरहेका छन् भन्ने यो थप संकेत हो ।’

प्रतिक्रिया दिनुहोस्