
यूकेमा देखिएको नयाँ स्वरूपको कोरोना भाइरसले विश्वव्यापी रूपमै थप चिन्ता बढाएको छ । थुप्रै देशले त्यहाँबाट हुने यात्रामा प्रतिबन्ध लगाउन थालेका छन् । अहिलेसम्म ४० भन्दा बढी देशले यूकेबाट हुने आवागमनमा रोक लगाएका छन् ।
विज्ञका अनुसार कोरोनाको नयाँ प्रकार झन् संक्रामक रहे पनि थप घातक रहेको प्रमाण फेला परेको छैन । यूके र त्यहाँबाट हुने उडानमा प्रतिबन्ध लगाउने देशहरूको सूची थपिँदै गर्दा विश्व स्वास्थ्य संगठनले जोखिमका सन्दर्भमा ध्यान दिन भनेको छ ।
डब्ल्यूएचओका आपत्कालीन मामिला प्रमुख माइक रायनले भाइरसको नयाँ प्रकार महामारीमा हुने विकासको एउटा सामान्य हिस्सा भएको भन्दै त्यो ‘नियन्त्रणबाहिर नरहेको’ बताएका छन् । तर उनको यो भनाइ ब्रिटिस स्वास्थ्यमन्त्रीसँग बाझिएको छ ।
नयाँ प्रकारको भाइरस रोक्ने प्रयासमा युरोपका अन्य देशले पनि यूकेबाट हुने आगमनमाथि प्रतिबन्ध लगाइसकेका छन् । फ्रेन्च सरकारले यूकेबाट आफ्नो देश आउने यात्रु तथा कार्गोमाथि प्रतिबन्ध लगाएको छ जसकारण ब्रिटेनको डोभर बन्दरगाहका सेवाहरू प्रभावित भएका छन् ।
यूकेका प्रधानमन्त्री बोरिस जोनसनले व्यापार सेवा पुनः सुरु गर्ने विषयमा फ्रेन्च राष्ट्रपति एमानुएल माक्रोँसँग कुराकानी गरिरहेको भन्दै समस्या चाँडै समाधान हुने विश्वास व्यक्त गरेका छन् ।
युरोपेली युनियनमा आबद्ध २७ देश कसरी अगाडि बढ्ने भन्ने विषयमा ब्रसेल्समा अधिकारीहरूले वार्ता गरिरहेका छन् । भारत, इरान, क्यानडालगायत अरू थुप्रै मुलुकले पनि यूकेबाट हुने आगमनमा रोक लगाएका छन् ।
संयुक्त राज्य अमेरिकाले निर्णय गर्न बाँकी छ । तर ब्रिटिस एअरवेज र डेल्टाले न्युयोर्कको जोन एफ केनेडी विमानस्थल जानका लागि यात्रुहरूको परीक्षण रिपोर्ट नेगेटिभ भएको देखाउन अनिवार्य गरेका छन् ।
साउदी अरब, कुवेत र ओमानले अन्तर्राष्ट्रिय यात्रुका लागि आफ्ना सिमानाहरू पूर्ण रूपमा बन्द गरिदिएका छन् । डेनमार्कका साथै अस्ट्रेलिया, इटली र नेदरल्यान्ड्समा पनि कोरोना भाइरसको नयाँ प्रकार फेला परेको छ ।