
नेपालमा प्रतिनिधि सभा विघटन र सत्तारुढ नेकपामा विभाजन आएपछि राजनीतिक संकट बढेका बेला चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले नेतृत्व गरेको प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको छ।
सो टोली एयर चाइनाको चेङ्दू–काठमाडौं उडानबाट साढे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
नेकपा विभाजनको कारण खोतल्ने र राजनीतिक स्थिरताका सम्भावना खोज्ने उद्देश्यले राष्ट्रपति सी चिनफिङको सन्देश बोकेर हतारमा चिनियाँ टोली काठमाडौं उत्रिएको हो।
बेइजिङबाट सिचुवानको चेङ्दु हुँदै काठमाडौं आइपुगेको पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चिनियाँ टोलीमा विभागका निर्देशकसहित चार जना रहेका छन्।
चिनियाँ टोलीले नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा नेकपाको अर्को समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
नेकपाको प्रचण्ड–नेपाल समूहका एक नेताका अनुसार चिनियाँ टोलीले चीनका राष्ट्रपति सी चिनफिङको सन्देश सबै नेताहरूलाई सुनाउने छन्, जुन नेकपा एकीकृत रहोस् र राजनीतिक स्थिरता धरापमा नपरोस् भन्ने हुन सक्ने छ।
‘नेकपाका नेताहरूसँग चिनियाँ टोलीले राष्ट्रपति सी चिनफिङको सन्देश सुनाउने र फेरि पनि पार्टी एकताको सम्भावना खोज्न प्रेरित गर्ने जस्तो देखिन्छ’, ती नेताले भने, ‘तर परिस्थिति धेरै अगाडि बढिसकेको अवस्थामा अहिले एकताको कुरा भन्दा पनि थप क्षति कसरी रोक्ने भन्ने छलफलको विषय हुनसक्छ।’
प्रचण्ड–नेपाल समूहका नेता राम कार्कीले नेकपा विभाजन भएको अवस्थामा यहाँको राजनीतिक अवस्था बुझ्न आफ्नै पहलमा चिनियाँ प्रतिनिधिमण्डल आएको बताए।
‘चिनियाँहरू नेपालको कम्युनिष्ट आन्दोलन एक रहोस् भन्ने चाहन्थे, अहिले अवस्था फेरिएकाले बुझ्न आएका होलान्’, कार्की भन्छन्, ‘अर्को पक्षको सक्रियता बढेपछि उनीहरू पनि सक्रिय हुने भैहाले।’
भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलले कात्तिक ५ गते काठमाडौं आएर प्रधानमन्त्री ओलीसँग राती तीन घण्ट वार्ता गरेपछि अहिलेको राजनीतिक परिस्थिति विकास भएको धेरैको टिप्पणी छ।