२२ बैशाख २०८१, शनिबार

 

कोरोनाले ८० प्रतिशतले घट्यो पर्यटक आगमन

सन् २०२० मा २ लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्यांकअनुसार हवाई मार्गबाट १ लाख ८३ हजार १ सय ३० तथा स्थलमार्ग हुँदै ४६ हजार ९ सय ५५ जना पर्यटक नेपाल आएका हुन् ।

विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ महामारीका कारण अघिल्लो वर्षको तुलनामा ८० दशमलव ८ प्रतिशतले पर्यटक आगमन घटेको छ । सन् २०१९ मा ११ लाख ९७ हजार १ सय ९१ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

त्यस्तै सन् २०१८ मा ११ लाख ७२ हजार ७२ पर्यटक नेपाल आएका थिए । कोभिडका कारण करिब छ महिना नियमित अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध भएकाले विदेशी पर्यटक घटेका हुन् । लकडाउनपछि गत भदौ १६ देखि अन्तर्राष्ट्रिय र असोज ५ गतेदेखि आन्तरिक उडान सञ्चालनमा आएका थिए ।

बोर्डका अनुसार सबैभन्दा बढी भारतबाट २५ हजार ३ सय २० पर्यटक नेपाल आएका छन् । चीनबाट ९ हजार ८ सय ८ जना, अमेरिकाबाट ९ हजार ६ सय ८२ जना, थाइल्यान्डबाट ९ हजार ५ सय १८ जना र म्यानमारबाट ९ हजार ४ सय जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । महामारीका कारण पर्यटक आगमन घटेको बोर्डका निर्देशक मणि लामिछानेले बताए ।

प्रतिशतका आधारमा भारतबाट सबैभन्दा बढी १७ दशमलव ५ प्रतिशत पर्यटक आएका छन् । म्यान्मारबाट ९ दशमलव १, थाइल्यान्डबाट ९, चीनबाट ८ दशमलव ४, अमेरिकाबाट ७ दशमलव ७ र श्रीलंकाबाट ५ दशमलव ८ प्रतिशत पर्यटकको आगमन भएको छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो ।

कोरोना महामारीले भ्रमण वर्ष नै स्थगित गर्नुपर्ने बाध्यता प¥यो । नेपालका प्रमुख १० पर्यटक स्रोत मुलुकमा भारत, चीन, बंगलादेश, श्रीलंका, थाइल्यान्ड, अमेरिका, बेलायत, जापान र जर्मनी रहेका छन् । गत वर्ष १० को यो सूचीमा अस्ट्रेलिया, दक्षिण कोरिया र फ्रान्स थिए ।

प्रतिक्रिया दिनुहोस्