३ श्रावण २०८३, आईतवार

 

अनौठो स्वभावका मस्क कसरी बने विश्वकै धनी

इलोन मस्क विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । अमेजनका संस्थापक जेफ बेजोसलाई उछिन्दै इलोन मस्क विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । टेस्ला र स्पेसएक्सका उद्यमी मस्कको कुल सम्पत्ति १८५ अर्ब डलरभन्दा बढी छ । विद्युतीय कार कम्पनीको सेयर मूल्य वृद्धि भएपछि उनको सम्पत्ति बढेको हो ।

विशेष गरी उनको विद्युतीय कार कम्पनी टेस्लाको सेयर मूल्य गएको एक वर्षमा ७ सय अर्ब डलरभन्दा बढी पुगेको छ । यसै वर्ष ५० वर्ष लागेका मस्कले चाहिँ आफ्नो धनी व्यक्तिकै रूपमा मृत्यु हुने ठानेका छैनन् । उनी आफ्नो अधिकांश पैसा मंगल ग्रहमा एउटा आधार बनाउनमै खर्च हुने ठान्छन् ।

उनले अमेरिकी अन्तरिक्ष कार्यक्रमसँग थप महत्त्वाकांक्षा नभएकाले त्यसबाट निराश भएर स्पेसएक्स कम्पनी स्थापना गरेको बताएका छन् । उनले भनेका छन्, ‘म पृथ्वीभन्दा बाहिर जाने, मंगलमा एक व्यक्तिलाई खडा गर्ने, चन्द्रमामा एउटा आधार बनाउने र अन्तरिक्षमा लगातार उडानहरू भर्ने आशा गरिरहेको छु ।’

त्यसो हुन नसकेपछि उनी मंगल ग्रहमा एउटा सानो ग्रिन हाउसलाई पठाउने ‘मार्स ओयसिस मिसन’को योजना लिएर आए । त्यसले अन्तरिक्षबारे मानिसहरूलाई फेरि एकपटक उत्साहित बनायो र अमेरिकी सरकारले नासाको बजेट बढायो । त्यसपछि उनले समस्या इच्छाको कमीमा भन्दा पनि त्यसलाई कसरी गरिन्छ भन्नेमा रहेको थाहा पाए ।

अन्तरिक्ष प्रविधि आवश्यकताभन्दा बढी नै महँगो भएको थाहा भएपछि जन्मियो– विश्वकै सबैभन्दा सस्तो रकेट लन्चिङ व्यापार । यसको उद्देश्य पैसा कमाउनुभन्दा पनि मंगल ग्रहमा मान्छेलाई उतार्नु हो ।

मस्क कार उद्योगमा क्रान्ति ल्याउन चाहन्छन् । मंगल ग्रहलाई उपनिवेश बनाउन चाहन्छन् । भ्याक्युम टनेलमा तीव्र गतिको रेल दौडाउन चाहन्छन्, आर्टिफिसियल इन्टलिजेन्सलाई मानिसको दिमागमा एकीकृत गर्न खोज्छन् र सौर्य ऊर्जा तथा ब्याट्री उद्योगलाई बढाउन चाहन्छन् । यी सबै कुराहरू सन् १९८० ताका बालबालिकाका लागि प्रकाशित हुने पत्रिकाहरूमा भविष्यको कल्पना गरिएर लेखिएका कथाहरूमा पाइन्छन् । मस्क पनि त्यसलाई लुकाउँदैनन् ।

उनले दक्षिण अफ्रिकामा बालक हुँदा हेरेका फिल्महरू र पुस्तकहरूबाट आफू प्रेरित भएको बताए । उनी धेरै कम्पनीहरूको न्यून महत्त्वाकांक्षा रहेको ठान्छन् । उनी यदि कुनै कम्पनीको प्रमुखले सामान्य खाले लक्ष्य राखेर त्यो पूरा नभए पनि कसैले उसलाई दोष नदिने तर कसैले ठूलो उद्देश्य राखेर त्यो पूरा नभए उसलाई हटाइने दाबी गर्छन् ।

मस्क अधिकांशले मोल्नेभन्दा बढ्तै खतरा मोल्छन् । उनले सन् २००२ मा उनका सुरुका दुईवटा उद्यमहरू बिक्री गरेका थिए । एउटा जीपटु नामक इन्टरनेट सिटी गाइड थियो भने अर्को अनलाइन भुक्तानी सेवा पेपाल थियो । त्यसबेला उनी ३० वर्षमा प्रवेश गर्दै थिए र उनीसँग बैंकमा करिब २० करोड डलर थियो ।

उनको उद्देश्य आधा भविष्यको व्यापारमा लगाउने र आधा बचत गर्ने थियो । तर त्यसले काम गरेन । त्यति बेला उनी व्यवसायका अँध्यारा दिनहरूबाट भर्खरै बाहिर आउँदै थिए । उनका नयाँ कम्पनीहरूले हर तरहका समस्या भोगिरहेका थिए ।

स्पेसएक्सका पहिला तीनवटा योजना असफल भएका थिए भने टेस्लाले उत्पादन, वितरण र डिजाइनको समस्या भोगिरहेको थियो । त्यसपछि आर्थिक मन्दी आयो । त्यसबेला आफूसँग कि त पैसा राख्ने र कम्पनीहरूलाई मार्ने वा लगानी गरेर एउटा मौका पर्खिने विकल्प रहेको उनी बताउँछन् । उनले पैसा लगानी गर्दै गए ।

ऋणमा डुबेका बेला उनले जीवन निर्वाहका लागि समेत साथीहरूसँग रकम माग्नुप¥यो । के त्यसो भए उनलाई डुब्छु भनेर डर लाग्यो ? उनले आफूलाई त्यस्तो नलागेको तर आफ्ना छोराछोरीलाई सरकारी स्कुलमा पढाउनुपर्ने हुन सक्छ भन्ठानेर एउटा स्कुलमा गएको बताए ।

मस्कको व्यापारमा सफलताको अर्को सूत्र हो– आलोचकको कुरा नसुन्नु । उनी आफू मूर्ख देखिने कुराले चिन्तित हुँदैनन् । त्यसले निर्णय क्षमतालाई निकै सजिलो पार्छ र आफूले गर्न चाहेको कुरामा केन्द्रित हुन मद्दत गर्छ ।

मस्क एकदमै धेरै काम गर्ने भनेर चर्चित छन् । टेस्ला मोडेल–३ का लागि उनले लगातार १२० घण्टा काम गरेको दाबी गरिन्छ । तर हामीले भेट्दा उनी आफैँमा रमाइरहेका थिए । उनी सामाजिक सञ्जालमा उनले व्यक्त गरेका अभिव्यक्तिहरूले पनि विवादमा आइरहन्छन् ।

सन् २०१८ मा उनले टेस्लालाई निजी बनाउने ट्विट गरेर अमेरिकी वित्तीय नियामकसँग उल्झनमा परेका थिए । कोरोना भाइरसपछि लगाइएको लकडाउनलाई लिएर पनि उनले त्यसको विरोध गरेका थिए । उनी आफ्नो नवजात छोराको अनौठो नाम राखेर पनि चर्चामा आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung