भारतबाट नेपाल आउने पेट्रालियम पाइपलाइन फोडेर हजारौं लिटर डिजल चोरी भएको तथ्य सार्वजनिक भएको छ । पटना नजिक सिवानको लकडी नवीगंज प्रखन्डको डुमरा गाउँ वरपरबाट आउने पाइपलाइनलाई प्वाल पारेर तेल चोरी भएको हो ।
पाइपलाइनबाटै तेल चोरी भइरहेको घटना बाहिरिएपछि भारतीय आयल कर्पोरेसन (आइओसी) नै अचम्मित भएको छ । घटनाबारे आइओसीका अधिकारीहरुले स्थलगत निरीक्षण गरेका छन्।
घटनाबारे भारतीय पक्षले नेपाल आयल निगमलाई बिहीवार नै जानकारी गराएको थियो। भारतमा पाइपलाइन सुरक्षाका लागि छुट्टै सुरक्षा निकाय छ। नेपालमा भने कानुनको अभावमा नेपाली सेनालाई पाइपलाइन सुरक्षाको जिम्मा दिइएको छ।
पाइपलाइनबाटै तेल चोरी भएको देखेपछि आइओसीका अधिकारीहरु जिल्ल परेको भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सले जनाएको छ।
बिहारमा पेट्रोलियम पाइपलाइनबाटै तेल चोरी भएको यो पहिलो घटना हो। आइओसीका अधिकारीहरुले स्थानीय प्रशासनलाई घटना बारे जानकारी दिइसकेका छन् । तेल चोरी सम्बन्धी घटना बारे स्थानीय प्रहरी चौकीमा उजुरी समेत दर्ता भएको छ। मेन पाइपलाइनबाट तेल चोरी भएपछि भारत सरकारको करोडौं रुपैयाँ नोक्सान भएको बताइएको छ।
पेट्रोलियम पाइपलाइनबाट चोरीको घटना तब बाहिरियो, जब खेतमा डिजल बग्न थाल्यो। पाइपलाइनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले तेल लिक भइरहेको जानकारी आइओसीका अधिकारीहरुलाई गराएका थिए।
जब यसबारे आइओसीका अधिकारीहरुले अनुसन्धान गरे तब मात्रै मुख्य पाइपलाइनबाटै तेल चोरी भइरहेको तथ्य बाहिरियो। सो पाइपबाट हरेक दिन हजारौं लिटर डिजल चोरी गर्न सक्ने गरी पूर्वाधार तयार भएको पाइएको छ। जमिनको सतहभन्दा चार मिटर तल पेट्रोलियम पाइपलाइन बिछ्याइएको छ।
चोरी गर्न जोडिएको पाइप पनि भूमिगत बनाइएको छ। जसका कारण तेल चोरी भइरहेको बारे पत्तो पाउन मुस्किल पर्ने बताइएको छ। मुख्य पाइपलाइनमा चोरहरुले जोडेको पाइपबाट डिजल लिक नहोस् भन्नका लागि छुट्टै बन्दोबस्तसहित लकिङ सुविधा जडान गरिएको छ।













































































































































































































